आज,लक्ष्मीपूजा 



 

सैघाली खबर 

काठमाडौँ, २ कात्तिक गते । कात्तिक कृष्ण औँसीका दिन बिहीबार धनधान्यकी देवी लक्ष्मीको पूजा तथा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्दा धनधान्यपूर्ण हुन्छ भनिन्छ । पूजाकोठा, बुइँगल, अट्टालिका, बरन्डा, भकारी रहेको धनसार लगायतमा बत्ती बालेर उज्यालो गर्दा लक्ष्मी प्रसन्न भई धनधान्यपूर्ण गराउँछिन् भन्ने जनविश्वास रहिआएको छ ।
यसै दिन बिहान गाईलाई लक्ष्मीको प्रतीक मानेर गाईपूजा गर्ने र राति दीपावलीसहित लक्ष्मीपूजा गर्ने प्रचलन छ । ज्योतिषी डा. सुनील सिटौलाका अनुसार यो दिन नराम्रो कार्य गर्दा वर्षैभरि पिर्छ भन्ने ज्योतिषीय मान्यता छ ।

लक्ष्मी प्रसाद देवकोटाको १०८ औँ जन्म जयन्ती

यसै दिन जनैपूर्णिमामा लगाइएको डोरो गाईको पुच्छरमा बाँधेर वैतरणी नदी तर्ने मनोकाङ्क्षा गरिन्छ । यसै दिन महाकवि स्व. लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती परेको छ । स्व। देवकोटाको १९६६ सालमा आजकै दिन काठमाडौँको डिल्लीबजारमा जन्म भएको थियो । नेपाल सांस्कृतिक सङ्घ डिल्लीबजारमा यो दिन साहित्यिक सभा आयोजना गरिनेछ । साहित्यिक जमघटमा देवकोटालाई मन पर्ने परिकारको समेत व्यवस्था यहाँ हुँदै आएको छ ।

 

देवकोटाको वृत्तचित्र दुर्लभ

महाकवि स्व.देवकोटाको जीवनीमा आधारित वृत्तचित्रको बजारमा निकै माग छ । प्रसिद्ध चलचित्र छायाँकार मञ्जुकुमार श्रेष्ठले छायाङ्कन गर्नुभएको यो वृत्तचित्रको प्रकाशित छ सय प्रति डीभीडी बिक्री भइसकेको छ । सिद्धान्तराम जोशी, रवि शाह, मिथिला शर्मा लगायतका कलाकारले कला प्रस्तुत गर्नुभएको ९० मिनेटको यो वृत्तचित्रको माग स्वदेशमा भन्दा विदेशमा बढी रहेको बताइएको छ । चलचित्र छायाँकार श्रेष्ठले देवकोटाको जीवनीमा आधारित ठूला पर्दाका चलचित्र नै तयारी गर्न पहल हुन आवश्यक रहेको बताउनुभयो । “देवकोटाका सन्दर्भमा कविगोष्ठी लगायतका सभा हुने गर्छन्, लेखहरू लेखिन्छन्, सबैले निकटता देखाउँछन् तर देवकोटाको जीवनीमा आधारित ठूला पर्दाका चलचित्र बनाउन किन कोही कस्सिँदैनन्”, उहाँले प्रश्न गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्