चितवन २ माः बादल की घाम ?



सैघाली खबर

चितवन, १२ कार्तिक । चितवन–२ का लागि वामपन्थी गठबन्धनको उम्मेदवार अझै पनि तय हुन नसक्नुको कारण हो, माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ र एमाले चितवन अध्यक्ष कृष्णभक्त पोखरेल दुवैले समान रुपमा यही क्षेत्र दावी गर्नु। 

 

तीन निर्वाचन क्षेत्र रहेको चितवनको क्षेत्र नं ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वामगठबन्धनका उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्ने पक्का भइसकेको छ। यसैगरी चितवन १ बाट एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रतिस्पर्धा गर्ने निश्चितजस्तै छ।

तर जिल्लाको क्षेत्र नं २ बाट वाम गठबन्धनको उम्मेदवार को होला, एमाले–माओवादी केन्द्रको कार्यदलले त्यसको टुंगो लगाउन सकेका छैनन्। यस सम्बन्धी निर्णय गर्ने दायित्व अव दुई पार्टीका शीर्ष नेताहरु सम्मिलित एकता संयोजन समितिमा पुगेको छ।

तीमध्ये दुई निर्वाचन क्षेत्रको उम्मेदवार तय भइसक्दा चितवन–२ का लागि वामपन्थी गठबन्धनको उम्मेदवार अझै पनि तय हुन नसक्नुको कारण हो, माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ र एमाले चितवन अध्यक्ष कृष्णभक्त पोखरेल दुवैले समान रुपमा यही क्षेत्र दावी गर्नु।

बाँडफाँट कार्यदलमा माओवादी केन्द्रको नेतृत्व बादल आफैले गरेका थिए। आफै ‘भान्से’ भएको बेला उनले यो निर्वाचन क्षेत्र आफ्नो भागमा पार्न सक्थे। तर सकेनन्। एमालेको जिल्ला नेतृत्वमामात्र भएपनि पोखरेलको दावी यति सशक्त ठहरियो कि, कार्यदलले निर्णयको जिम्मा शीर्ष नेताहरुलाई दियो।

बादल र पोखरेल दुले यही निर्वाचन क्षेत्रबाट संविधान सभामा प्रतिनिधित्व गर्नु नै दुवैको दावी बलियो हुनुको मुख्य कारण हो। एमालेका पोखरेल २०७० को संविधान सभामा यो क्षेत्रबाट निर्वाचित भएका थिए भने बादलले २०६४ को निर्वाचनमा यस क्षेत्रको प्रतिनिधित्व गरेका थिए।

०६४ को निर्वाचनमा विजयी हुनु र शीर्ष नेताको पंक्तिमा भएका कारण बादलको दावेदारी बलियो बनिरहेको छ भने माओवादी केन्द्रका तुलनामा चितवनमा एमाले बलियो भएकाले पोखरेलको दावीलाई पनि माओवादी केन्द्रका नेताहरुले अस्वाभाविक मान्न सकिरहेका छैनन्।

शीर्ष नेता हुनुको नाताले टिकटमा बादलको दावी बलियो बनिरहे पनि माओवादी केन्द्रलेपनि यसलाई आफ्नो प्रतिष्ठाको विषय किन बनाउन सकिरहेको छैन भने, एमालेको चित्त दुखाएर यो क्षेत्र आफ्ना लागि सुरक्षित गर्ने हो भने त्यसको असर क्षेत्र नं ३ मा पर्ने हो कि भन्ने डर माओवादी केन्द्रलाई छ।

किनभने, क्षेत्र नं ३ मा अध्यक्ष प्रचण्ड आफै उम्मेदवार बन्दैछन्।

पोखरेलको उचित व्यवस्थापनविना बादलले प्रतिस्पर्धा गर्दा पोखरेलको असन्तुष्टिको असर त्यो निर्वाचन क्षेत्रमा मात्र होइन, प्रचण्डले प्रतिस्पर्धा गर्ने क्षेत्र नं ३ मापनि पर्न सक्छ। किनभने, पोखरेल एमाले चितवनका अध्यक्ष पनि हुन्। एमालेको जिल्ला नेतृत्वकै चित्त दुखाएर बादललाई त्यहाँको टिकट दिनु दुवै पार्टीका लागि सहज छैन।

त्यसैले, एमालेका नेताहरु प्रचण्डको सहज विजयका लागि पनि क्षेत्र नं २ मा दावी नगर्न माओवादी नेतृत्वसँग अनुरोध गरिरहेका छन् भने माओवादी केन्द्रलेपनि बादलका लागि चितवन २ का सम्बन्धमा लचक बनिदिन आग्रह गरिरहेको छ।

दुवैले यस क्षेत्रलाई प्रतिष्ठाको विषय बनाएपछि एमालेले बादललाई चितवनसँगै सीमा जोडिएको नयाँजिल्ला नवलपुरबाट उम्मेदवार बन्न आग्रह गरेको थियो। तर त्यो निर्वाचन क्षेत्र आफ्ना लागि विरानो रहेको बताउँदै बादलले त्यहाँ जान रुचि देखाएनन्।

कार्यदल स्तरमा भएको लामो छलफलबाटपनि यो निर्वाचन क्षेत्रबारे टुङ्गो नलागेपछि निर्णय गर्ने जिम्मा अव दुवै पार्टीको शीर्ष नेतृत्वले पाएको छ। दुवै पक्षको समान दावीका कारण यस क्षेत्रबाट गोलकारभित्रको हँसिया हथौडा चिन्हधारी बादललाई उम्मेदवार बनाउने वा सूर्य चिन्हधारी पोखरेललाई–शीर्ष नेतृत्वलाई निर्णय गर्न सहज छैन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्