सिमेन्ट उद्योग लाई उत्खनन् र ढुवानीमा रोक



सैघाली खबर
दाङ, १२ कार्तिक । बंगलाचुली गाउँपालिकाले घोराही सिमेन्ट उद्योगले खानी मार्ग क्षेत्रको धुलो नियन्त्रण नगरेको भन्दै उत्खनन् र ढुवानीमा रोक लगाएको छ । लामो समय देखी उद्योगले धुलो धुवा नियन्त्रणमा अटेरी गरेको भन्दै गाउँपालिकाले खानी क्षेत्रमा चुनढुंगा उत्खनन् र ढुवानीमा रोक लगाएको हो ।

असोज २३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले एक हप्ता भित्र धुलो धुवा नियन्त्रणका लागि समय दिए पनि अटेरी गरेपछि अहिले गाउँपालिकाले उत्खनन् र ढुवानीमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले बताउनुभयो ।

धुलो धुवाले जनताको जनजिवनलाई प्रत्येक्ष असर गरिरहदा सम्म पनि उद्योगले त्यसको नियन्त्रणका लागि काम नगरेपछि जनदवाबबाट गाउँपालिकाले खानी क्षेत्रमा रोक लगाएको जनाएको छ । बंगलाचुलीले कच्चा पदार्थ पनि दिने र धुलोपनि खानु पर्ने बाध्यतालाई हटाउन र उद्योगलाई जिम्मेवार बनाउन आफुहरुले भुमिका खेलेको उहाँको भनाई छ ।

घोराहीको गोग्लीमा रहेको सिमेन्ट उद्योगको खानी क्षेत्र जाने सडकमा उड्ने धुलो नियन्त्रण गर्नुपर्ने मुख्य माग रहेको उहाँले बताउनुभयो । उत्खनन् र ढुवानीमा रोक लगाएपछि तीन दिन देखी काम ठप्प भएको छ ।

उद्योग र जनमैत्री बाताबरण सृजना गर्नुपर्नेमा उद्योगले जनतालाई मारेर कमाउन खोज्नु कुनै पनि हातलमा स्विकार्य नहुने उहाँको भनाई छ । घोराही सिमेन्ट उद्योगका लागि चुनढुंगा बोक्ने करिब एक सय टिप्परहरु दैनिक चल्ने गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्