रासायनिक मल अभाव



सैघाली खबर
काठमाण्डौ, १४ कार्तिक । धान काटिसकेर हिउँदे बाली लगाउने बेला रासायनिक मलको अभाव भएकाले किसानहरु चिन्तामा परेका छन्।

समय घर्केपछि बाली लगाए उत्पादन कम हुने चिन्ता पनि उनीहरुको छ।
सरकारले कोलकाता बन्दरगाहमा उत्पन्न समस्या तथा अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेकोले यस वर्ष समयमै मल आपूर्ति गर्न नसकेको बताएको छ।
यसपटक भारतको कोलकत्ता बन्दरगाहबाट रासायनिक मल ल्याउन साबिकभन्दा बढी समय लागेको अधिकारीहरुले बताएका छन्।

त्यसमाथि अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य ह्वात्तै बढेकाले पनि अप्ठेरो परेको कृषि मन्त्रालयले जनाएको छ।
मल अभावको समस्या सदाका लागि समाप्त गर्न खरिद प्रक्रिया संशोधन गर्नुपर्ने कृषि मन्त्रालय अन्तर्गत कृषि सामाग्री खरिद शाखाका प्रमुख इश्वरी पाण्डेले बताए।

उनले भने, ूटेण्डरबाट सामान खरिद गर्दा सयम लाग्छ। यसबीचमा मलको मूल्य बढ्यो भने उसले आलटाल गर्ने गर्छ र झन् समय लाग्छ। त्यसैले मलको खरिद प्रकृया खरिद ऐन अनुसार अन्य सामान खरिद गर्ने भन्दा फरक बनाउनु पर्छ, ऐनलाई सुधार गर्नुपर्छ।ू
जुलाईमा प्रति मेट्रिक टन रासायनिक मलको मूल्य २०१ अमेरिकी डलर थियो।
कृषि मन्त्रालयका अनुसार गत महिना यसको मूल्य बढेर २६२ डलर पुग्यो र हाल ३ सयभन्दा बढी रहेको छ।

किसानहरुले हाललाई डिएपी मलको माग गरेका हुन्।
धान काटेर हिउँदे बाली लगाउनु अघि नै डिएपी खेतमा हाल्नुपर्ने भएकोले यसको अभावमा कृषकले समयमै हिउँदे बाली लगाउन सकेका छैनन्।
छिट्टै किसानका खेतमा मल नपुगे उत्पादनमा ह्रास आउने बताउँछन् राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ।
उनले भने, ूबाली लगाउने बेला मल नपाउनु भनेको सरकार गम्भीर नभएको भन्ने देखिन्छ। किसानहरुलाई ठूलो मर्का पर्यो नै। हाम्रो हिउँदे बालीको उत्पादन घट्न सक्ने सम्भावना देखियो।ू

कृषि मन्त्रालयका अनुसार नेपालमा एक वर्षमा करिब ४ लाख मेट्रिक टन रासायनिक मलको माग हुने गर्दछ।
तर अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको कारण यस वर्ष ३ लाख मेट्रिक टनमात्र खरिद गर्ने योजना रहेको उसले बताएको छ।
त्यसैले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य नघटे नेपाली किसानहरुलाई अझै कठिनाई पर्ने देखिन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्