काँग्रेस– राप्रपा गठवन्धन संकटमा



सैघाली खबर
काठमाण्डौ, १५ कार्तिक । लोकतान्त्रिक गठवन्धन भनिएको नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी गठवन्धन संकटमा परेको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको टिक वाँडफाँटमा कुरा मल्नि नसक्दा गठवन्धनको सम्वन्धमा तिक्तता वढ्दै गइरहेको छ ।

झापा–३ मा कांग्रेसले पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाको उम्मेदवारी घोषणा गरेपछि राप्रपाले त्यस क्षेत्रका लागि वामपन्थी गठबन्धनसँग वार्ता अघि बढाएको छ। झापामा कांग्रेसले आफै गठबन्धन तोडेकाले आफूहरु नयाँ गठबन्धनका लागि स्वतन्त्र भएको बताउँदै राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले साझा उम्मेदवारीका लागि वामपन्थी गठबन्धनसँग कुराकानी भइरहेको बताए।

 

महामन्त्री लिङ्देनले भने, ‘झापाका सन्दर्भमा कांग्रेससँगको गठबन्धन तोडिएको छ। अव कोसँग गठबन्धन गर्ने भन्ने सम्बन्धी निर्णय गर्न हामी स्वतन्त्र भएकाले विकल्पमा वामपन्थी गठबन्धनसँग कुराकानी सुरु गरेका छौँ। उहाँहरु सकरात्मक भएमा झापामा राप्रपा र वामगठबन्धनबीच चुनावी तालमेल हुनसक्छ।’

कांग्रेससँग गठबन्धन टुटेपछि झापा– ३ मा अर्को गठबन्धनसँग कुराकानी हुनु स्वभाविक रहेको पनि उनले बताए। ‘गठबन्धनको संस्कृति विकसित भएको छ। त्यसैले हामीलाई यहाँ कसैले समर्थन गर्छ भने अन्य क्षेत्रमा हामी उसलाई समर्थन गर्छौँ’ महामन्त्री लिङ्देनले भने, ‘यस विषयमा केन्द्रबाटै अध्यक्ष कमल थापाले पनि कुराकानी चलाइरहनु भएको छ।’

वामपन्थी गठबन्धनले झापा–३ मा राप्रपाका लिङ्देनलाई समर्थन गर्ने र अन्य क्षेत्रमा राप्रपाको साथ लिने गरी कुराकानी अघि बढाएको छ। अध्यक्ष थापा उम्मेदवार हुने भनिएको मकवानपुर–१ छाड्न कांग्रेसका जिल्ला तहका नेताहरुले अस्वीकार गरेपछि राप्रपा समस्यामा परेको छ। हुन त, झापा–३ मा समस्या देखिएपनि कांग्रेस–राप्रपाको नेतृत्वले गठबन्धन कायमै राख्ने बताएका छन्। तर मकवानपुर–१ मा कांग्रेसको तर्फबाट उम्मेदवारी परेमा राप्रपा औपचारिक रुपमा गठबन्धनबाट बाहिरिन सक्छ।

प्रतिनिधि सभामा ७ र प्रदेश सभामा २५ दिने सहमतिपछि राप्रपा कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल भएको थियो। त्यससम्बन्धी सहमति पत्रमा कांग्रेस नेता बिमलेन्द्र निधि र राप्रपा नेता बुद्धिमान तामाङले हस्ताक्षर गरेका छन्। सो सहमतिपत्रमा झापा–३, मकवानपुर–१, काठमाडौं–७, दैलेख १, बाँके–२, धनुषा–२ र पर्सा–१ राप्रपाले पाउने उल्लेख छ।

यो सहमतिका वावजुद कांग्रेसले झापा ३ मा सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेपछि झस्किएको राप्रपालाई पर्सा–१ पनि कांग्रेसले छाड्ला भन्ने विश्वास छैन। त्यसैले त्यहाँका लागि उम्मेदवार तय गरिएका बरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको नाम राप्रपाले समानुपातिकतर्फ राखेको छ। अव कांग्रेसले बाँके र दैलेखमा के गर्छ, त्यो हेरेर राप्रपाले निर्णय गर्नेछ।

‘सिट बाँडफाँट सम्बन्धमा दुई पार्टीबीच लिखित सहमति नै भएको छ, सहमतिपत्रमा गठबन्धन र सरकारमा सहभागिता सम्बन्धी कुरा पनि उल्लेख छन् । गठबन्धनमा समस्या आउन थालेको छ। यदि निधि–तामाङबीच भएको लिखित सहमति बमोजिम कांग्रेसले राप्रपालाई सिट नछाड्ने हो भने कांग्रेस–राप्रपाबीचको गठबन्धन टुट्न सक्छ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्