सभामुखको उम्मेदवारमा अग्निप्रसाद सापकोटा, फेरिँदै १२ सम्मको पाठ्यक्रम, गायिका आस्था राउतलाई कठोर सजाय हुनसक्ने



काठमाडौंबाट सोमबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक/फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । लगायतका विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्रक विषयमा आजका पत्रपत्रिकाहरुमा समाचार छापिएका छन् ।

आजका पत्रिकामा सभामुखको उम्मेदवार टुङ्गो लागेको विषयले प्राथमिकता पाएका छन् । सत्तारुढ नेकपाले सभामुख उम्मेदवार टुंगो लगाएको छ। नेकपा सचिवालयको आइतबारको बैठकले पार्टी स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

कान्तिपुर दैनिकमा सभामुख अग्नी सापकोटाको उम्मेदवारीले नेकपामा समीकरण फेरिएको संकेत गरेको समाचार छ । डेढ वर्षयता पार्टी एकतादेखि मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा अन्य नेताले आक्कलझुक्कल विरोध गरे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भनेकै लाइनमा निर्णय हुँदै आएका थिए । यसपटक पनि सभामुख पद रिक्त भएपछि ओलीले आफूले चाहकै व्यक्ति ल्याउने कोसिस गरे । त्यसका लागि उनले आफ्नो विश्वासपात्र पूर्वसभामुख सुवास नेम्वाङलाई अघि सारे । तर झण्डै एक महिनाको रसाकस्सीपछि आइतबार प्रधानमन्त्री तथा अध्यक्ष ओली अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयमा सहमत भए । यो निर्णयको सन्देश के हो रु नेकपाका एक उच्च नेताले भने, ‘पार्टीमा अब ओलीले भनेको मात्र चल्दैन ।’ पार्टी भित्रको समीकरणमा अप्ठेरोमा परेपछि ओली पूर्वमाओवादी पक्षले अघि सारेको नाममा सहमत हुन बाध्य भएका हुन् । पूर्वएमाले पक्षकै वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल तथा प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले अर्का अध्यक्षलाई साथ दिए । गौतम निवास भैसेपाटीमा पुस २३ गते सचिवालयका नौमध्ये पाँच जना नेताहरुले छुट्टै भेला गरेका थिए । भैसेपाटी गठबन्धन सभामुख चयनका सन्दर्भमा टसमस नहुने अवस्था बनेपछि आइतबार ओली पार्टीभित्रको मनोविज्ञान सम्बोधन गर्ने निश्कर्षमा पुगे । र, सचिवालय बैठकबाट सपाकोटालाई सभामुख बनाउने निर्णय भयो ।

नागरिक दैनिकमा पनि नेकपाले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको समाचार छ। सापकोटाविरुद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो। किटानी जाहेरीसँगै सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दासम्बन्धी रिट निवेदन आठ वर्षदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ। २०७२ चैत २२ मा तत्कालीन न्यायाधीशहरू सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सशस्त्र द्वन्द्वसँग सम्बन्धित रिट निवेदन संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो। काभ्रेका लामालाई २०६२ वैशाख १६ मा तत्कालीन विद्रोही माओवादीले अपहरण गरी हत्या गरेका थिए। स्थानीय श्रीकृष्ण मावि दाप्चा, छत्रेबाँझ विद्यालय व्यवस्थापन समितिको चुनावबाट अध्यक्षमा निर्वाचित भएको दिनमै लामा विद्यालय परिसरबाटै अपहरणमा परेका थिए। उनलाई ‘केही कुराकानी गरी फर्काउने’ भन्दै तत्कालीन माओवादी कार्यकर्ताले अपहरण गरी लगेका थिए। अर्जुनकी पत्नी पूर्णिमाया लामा २०६४ सालमा काभ्रे जिल्ला प्रहरी कार्यालयमा तत्कालीन माओवादी नेता सापकोटा, सूर्यमान दोङसहित ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता गर्न गएकी थिइन्।

गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ‘भनाभन’ लाई स्थानीय प्रशासनले कठोर सजाय हुनसक्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको कान्तिपुर दैनिकमा समाचार छ । प्रशासनले राउतमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अनुसार कारवाही गर्न अनुमति दिएको हो । कसुर पुष्टि भए १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था उक्त दफामा छ । सुरक्षा र कानुन मामिलाका जानकारहरुले भनाभन आचरण÷व्यवहारसँग जोडिएको तर प्रशासनले अपराधका रुपमा डिल गरेको टिप्पणी गरेका छन् । दूई पक्षबीच मिलापत्र गराएर राउतलाई आफन्त वा आबद्ध संस्थाको जिम्मा लगाउने सकिने बाटो हुँदा हुँदै प्रशासनले प्रतिशोध साध्न अपराध आरोप लगाएको उनीहरुको भनाइ छ । राउतबाट आफूमाथि अभद्र व्यवहार भएको भन्दै जवान श्रेष्ठले शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिएकी थिइन् ।

आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन हुन लागेको खबर अन्नपूर्णले छापेको छ । समाचार अनुसार पाठ्यक्रम विकास केन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारूप तयार गरेको छ ।पहिलो चरणमा शैक्षिक सत्र ०७७र७८ मा कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन हुनेछ । दोस्रो चरणमा २,३,६ र १२ र त्यसपछि ४, ५, ७,८ र ९ को पाठ्क्रयम क्रमैसँगै परिवर्तन हुने अन्नपूर्ण समाचारमा उल्लेख छ । तर यी सबै परिवर्तन हुन ०८० सम्म लाग्ने केन्द्रको भनाइ छ ।कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्यबाट हटाइएको छ । यसप्रति भने विज्ञहरूले आपत्ति जनाएको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोष्ट दैनिकमा कास्कीको अन्नपूर्ण गाउँपालिका ११ को हिमालय र देउरालीको बीचमा पर्ने हिङ्कुखोलामा गएको हिमपहिरोमा हराएका ४ कोरियाली र ३ नेपाली पर्यटकको सिम्रिक एयरको हेलिकप्टरले आइतबार उद्धार टोलीसहित खोजी गरेको छ । रेक्को डिभाइसले हराइरहेकाहरुको मेटल सिग्नल पाएको उद्धार टोली कोअर्डिनेटर सुरज पौडेलले जानकारी दिए । टोलीले आइतबार दिउँसो ३ बजेदेखि हिमपहिरो गएको हिङ्कु खेलामा मानिसको सिग्नल पाएको उनले जानकारी दिए । रेक्को हराएको मानिस खोज्ने विशेष यन्त्र हो । स्विट्जरल्याण्डमा तालिम लिएका सिम्रिक एयरका पाइलट थापासहित टोलीले दिउँसो ३ बजेदेखि ५ बजेसम्म खोजी गरेको थियो । हिङ्कु खोला क्षेत्रमा ठूलो हिमपहिरो रहेको उनले बताए । मौसमका कारण जमिनबाट खोजी गर्न सकिएको छैन ।

सोही पत्रिकामा मिडिया काउन्सिलसम्बन्धी विधेयकमा सांसदहरूले पत्रकार लाइसेन्सको प्रावधान राख्नैपर्ने प्रस्ताव राखेको समाचार छ। विधायन व्यवस्थापन समितिको छलफलमा आइतबार राष्ट्रियसभाका सांसदले पत्रकारिता मर्यादित बनाउन यो प्रावधान राख्नुपर्ने भन्दै यस्तो प्रस्ताव गरेका हुन्। अरु काउन्सिल जस्तै मिडिया काउन्सिलमा पनि लाइसेन्सको व्यवस्था राख्नुपर्ने राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले बताए।

गोरखापत्रदैनिकमा कालापानी क्षेत्रलाई सडक सञ्जालसँग जोड्न ब्रह्मदेव­झुलाघाट­दार्चुला­टिङ्कर सडक निर्माणलाई तीव्रता दिइएको छ । कञ्चनपुरको ब्रह्मदेव बजारदेखि दार्चुलाको टिङ्करसम्म निर्माण गर्न लागिएको सो सडकको ट्र्याक खोल्ने काम तीव्र रूपमा भइरहेको सडक विभागले जनाएको छ ।गृहमन्त्री रामबहादुर थापामगरले पुस १५ गते बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा कालापानीसम्म बाटो बनाउन सरकारले बजेट छुट्ट्याएको जानकारी दिएका थिए ।सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले यो सडक निर्माणलाई सुदूरपश्चिमको ‘माइलस्टोन’ आयोजनाको रूपमा अगाडि बढाइएको बताए ।उनले भने, “यो सडक निर्माण भइसकेपछि कञ्चनपुरको ब्रह्मदेवदेखि झुलाघाट, दार्चुला, र टिङ्कर हुँदै कालापानीसम्म पुग्न सहज हुने भएकाले उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको छ । ”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्