उखु किसानले केही दिनभित्रै अनुदान रकम पाउने सरकारको दाबि, किसान भन्छन्- नपाए फेरि आन्दोलन गर्छौ



काठमाण्डौ । उखु किसानले केही दिनभित्रै अनुदान रकम पाउने सरकारले दाबी गरेको छ ।सरकारले दिने एक अर्ब ९ करोड रुपैयाँमध्ये ७१ करोड रुपैयाँ सम्बन्धित जिल्लामा निकासा भइसकेको र बाँकी ३८ करोड रुपैयाँ पनि केही दिनमै उपलब्ध गराउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताए । उनले निकासा हुन बाँकी ३८ करोड रुपैयाँ तत्काल उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार गरि सकिएको पनि जानकारी दिए ।

यता मन्त्री भट्टले उखु किसानलाई अनुदान रकम निकासा भइसकेको बताए पनि अहिलेसम्म किसानले भने भुक्तानी रकम पाउन सकेका छैनन् । आर्थिक वर्ष २०७४र७५ को झण्डै दुई करोड रुपैयाँसहित यो वर्षको अनुदान रकम आफूहरुले नपाएको उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

यसैबीच चिनी उद्योगीले मङ्गलबारसम्ममा सबै रकम भुक्तान गर्नुपर्ने भए पनि त्यसो नभएपछि उखु किसानले फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । पटक–पटक किसानसँग भएको सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको उनीहरुको भनाइ छ ।

गएको पुस १८ गते सरकार र किसानबीच मङ्गलबारसम्ममा चिनी उद्योगीले किसानका एक अर्ब २० करोड रुपैयाँ भुक्तानी गर्ने सहमति भए पनि कार्यान्वयन भएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्