पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन



सैघाली खबर,
काठमाडौं । नेपालका वरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार आफ्नै निवासमा निधन भएको छ । ९० वर्षीय बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।
शनिबार बिहान साढे १० बजे काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै निवासमा बिष्टको निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।
२ माघ १९८३ मा काठमाडौंको ठमेलमा जन्मेका विष्ट तीनपटक प्रधानमन्त्री र एकपटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए । बिष्ट करिब एक वर्षदेखि बेडमै आराम गरिरहेका थिए ।

उनी २५ चैत ०२५ देखि ३१ चैत ०२६ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । १ वैशाख ०२८ देखि १ साउन ०३० सम्म दोस्रोपटक र ३० वैशाख ०३४ देखि १६ जेठ ०३६ सम्म तेस्रोपटक प्रधानमन्त्री बनेका थिए ।

दोस्रोपटक प्रधानमन्त्री रहेको समयमा २५ असार ०३० सालमा सिंहदरबार आगलागी भएपछि नैतिकताका आधारमा राजीनामा दिएका उनलाई सोही कारण नैतिकवान नेताका रुपमा चिनिने गरेको छ ।
१९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि उनी मन्त्रिपरिषद्का उपाध्यक्ष बनाइएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्