असुरक्षित बन्दै रोल्पा , अन्नत माथि पुनः गोली प्रहार



सैघाली खबर
रोल्पा, २६ कार्तिक । नेकपा ‘माओवादी केन्द्र’का वरिष्ठ नेता एवम् वाम गठबन्धनको तर्फबाट रोल्पाका प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’लाई लक्षित गरी एक समूहले पेस्तोलबाट गोली प्रहार गरेको छ । वाम गठबन्धनद्वारा दुईखोली गाउँपालिका–६ बागमारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जानेक्रममा दुईखोली गाउँपालिका–३, केउरीखोलाको जंगलबाट अज्ञात समूहले अनन्तलाई लक्षित गरी गोली प्रहार गरेको हो ।

शनिबार विहान अनन्तलगायत वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरी अज्ञात समूहले भिताबाङमा शक्तिशाली माईन विस्फोट गराएको थियो । शक्तिशाली वम विस्फोट गराएको २४ घण्टाभित्र अनन्तमाथि उक्त समूहले पुनः आक्रमण प्रयास गरेको हो ।

वम विस्फोट र पेस्तोल प्रहारमा नेकपाका कार्यकर्ताहरु संलग्न रहेको प्रहरी स्रोतको दावि छ । तर, नेकपाले आक्रमणको जिम्मेवारी लिएको छैन । ‘यसमा नेकपा कार्यकर्ताहरुको संलग्नता छ’, एक प्रहरी उच्चअधिकारीले भने ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुदर्शन पन्थीले अनन्तमाथि अज्ञात समूहले एक राउण्ड गोली प्रहार गरेको पुष्टि गरे । ‘ विहान ११ बजेर २५ मिनेट जाँदा पेस्तोलबाट एक राउण्ड गोली प्रहार भएको छ’, निरिक्षक पन्थीले भने, ‘गोली कसैलाई लागेन । पूर्वमन्त्रीज्यूलगायत सबै सकुशल हुनुहुन्छ ।’

गोली प्रहारसँगै उक्त समूहले ढुंगा पल्टाएर अनन्तलाई अवरोधको प्रयास गरेका थिए । अवरोधलाई पन्छाएर अनन्त नेतृत्वको चुनावी टोली बागमारा पुगेर कार्यक्रम गरिरहेको छ ।

चुनावी सभामा सहभागी हुनका लागि प्रतिनिधिसभाका उम्मेदवार अनन्त, प्रदेशसभा उम्मेदवार एवं माओवादी केन्द्रका सचिवालय सदस्य दीपेन्द्र पुन, समानुपातिक उम्मेदवार जयपुरी घर्ती, ईश्वरी घर्ती, कुमार दशौदी, एमालेका पोलिटव्यूरो सदस्य एवं निर्वाचन परिचालन समिति संयोजक, एमाले जिल्ला अध्यक्ष हरीप्रसाद घर्ती साथमै थिए ।
ढुंगा पल्टाउने पक्राउ

प्रहरीले पेस्तोल आक्रमण गर्नेको पहिचान गर्न नसके पनि ढुंगा पल्टाएर अनन्तलाई अवरोध गर्न खोज्ने तीनजनालाई पक्राउ गरेको छ । उनीहरुले खाँस काट्ने भेषमा ढुंगा पल्टाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्