एमसिसी कार्यदल फाल्तु र अनावश्यक – प्रधानमन्त्री ओली



काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले अमेरिकी परियोजना एमसिसीबारे बुझ्न गठन गरेको कार्यदललाई ‘फाल्तु’ र ‘अनावश्यक’ भनेका छन्। एमसिसी पारित नगर्नका लागि ध्यानाकर्षण गराउन गएको नेकपा माले क्रान्तीकारी र माओवादी सहितको ९ दलीय टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले कार्यदल असान्दर्भिक समेत रहेको बताए।

‘हामीले त प्रधानमन्त्री एमसिसीको पक्षमा १ सय १० प्रतिशत प्रतिबद्ध रहेको पायौ,’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै नेकपा मालेका महासचिव सिपी मैनालीले भने, ‘आफ्नै पार्टीले बनाएको कार्यदललाई समेत उहाँले खिल्ली उडाउने र फाल्तु भन्ने काम गर्नुभयो। उहाँले अमेरीकी रणनीति र राजनीतिलाई भन्दा पनि पैसालाई महत्व दिएको हामीले पाएका छौं।’

केहि दिन अगाडी प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नबुझेका कुरालाई स्पष्ट पार्नका लागि मात्रै कार्यदल बनाइएको धारणा राखेको क्रान्तीकारी माओवादीका नेता सिपी गजुरेलले बताए। भेटमा प्रधानमन्त्रीले सन् २०१७ मा सम्झौता गर्ने अनि अढाई बर्ष पछि सन् २०२० मा कार्यदल गठन गर्नुको कुनै औचित्य नरहेको धारणा राखेको समेत गजुरेलले बताए।

एमसिसी इण्डोप्यासिफिक रणनीतिको अंग भए/नभएको विषयमा अध्ययन गर्न पूर्वप्रधानमन्त्री एवम् नेकपा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा माघ १९ गते तीन सदस्यीय कार्यदल गठन भएको थियो। कार्यदलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र स्थायी समिति सदस्य भीम रावल सदस्य छन्। कार्यदललाई १० दिनको समय दिइएको थियो। १० दिनमा काम नसकेपछि खनालले थप १० दिन म्याद थप्नुपर्ने बताएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्