दक्षिण कोरियामा फैलिएको कोरोनाले नेपाली प्रभावित हुनसक्ने भन्दै प्रतिनिधिसभा बैठकमा सरकारको ध्यानाकर्षण



काठमाडौं । नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई ‘कोरोनाभाइरस’ले आक्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

चीनबाट उत्पन्न भएको भनिएको ‘कोभिड–१९’ विश्वव्यापीरुपमा फैलिएको र पछिल्लो दिनमा कोरियामा समेत त्यसले प्रभाव पारेकाले त्यहाँका नेपालीको अवस्था के–कस्तो रहेको छ भन्नेबारेमा यथार्थ जानकारी गराउन सांसदले माग गरे । नेकपाका धर्मशिला चापागाईंले कोरियाका नेपालीलाई तत्काल उद्धारका लागि पहल गर्न माग गरिन् ।

उनले भाइरस फैलन नदिन सरकारका तर्फबाट तत्काल विशेष पहल गरिनुपर्नेमा पनि जोड दिइन् । सोही दलका दीपकप्रकाश भट्टले सुदूरपश्चिम प्रदेशको सहज व्यापारका लागि मार्गप्रशस्त गर्नेगरी नाका विस्तार गर्न माग गरे । नेकपाकै नवराज सिलवालले महिला हिंसाको घटना एवं महिला तथा बालबालिकामाथि तेजाब प्रहारको घटनामा वृद्धि भएको जनाउँदै नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले खुलारुपमा तेजाब बिक्री–वितरण भइरहेकाले तत्काल नियमन गर्नुपर्नेमा पनि जोड दिए । नेपाली कांग्रेसकी पुष्पा भुसालले भाइरस नियन्त्रणका लागि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै संयन्त्र स्थापना नगरिएकामा गुनासो गरिन् । उनले रोगको पहिचान र ‘क्वारेन्टाइन’ केन्द्र निर्माण गर्नेतर्फ किन तदारुकता नदेखाइएको ? भनी प्रश्न गरिन् ।

सांसद भुसालले पछिल्ला दिनमा कोरियामा समेत कोरोनाभाइरसको संक्रमण फैलिएकाले त्यहाँका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन् । सोही दलकी डिला संग्रौलाले देशका अधिकांश विश्वविद्यालयमा पदाधिकारी नहुँदा अस्तव्यस्त भएकाले तत्काल पदाधिकारी नियुक्तिका लागि सरकारसँग माग गरिन् ।

कांग्रेसकै दिव्यमणि राजभण्डारीले इपासपोर्ट तथा अन्तःशुल्क स्टिकर छपाइमा भइरहेको ढिलाइ र ‘जीटुजी’का माध्यमबाट खरिद गर्न खोजिएकाले त्यसमा अनियमितताको आशंका गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्