जनकपुरमा महामूर्ख सम्मेलन हुने, विजयी एकलाई उपाधि




जनकपुरधाममा महामूर्खको खोजी सुन्दा उटपटांग लाग्न सक्छ तर सत्य यही रहेछ । जनकपुरधाममा महामूर्खको अहिले खोजी भइरहेको छ । कुनै एकजनालाई यसपाली महामूर्खको उपाधि प्रदान गरिने छ ।

होलीसंगै जनकपुरधाम क्षेत्रमा आजभोलि सबैभन्दा बढी चर्चा कसैको छ त्यो महामूर्ख सम्मेलन हो । मिथिला नाटय कला परिषद मिनापको आयोजनामा जनकपुरधाममा प्रत्येक वर्ष हुने महामूर्ख सम्मेलन यसपाली पनि भव्य तयारी भइरहेको छ । साथै एकजना विशिष्ट व्यक्तिको खोजी पनि भइरहेको छ । व्यंग्यात्मक शैलीमा हुने सो कार्यक्रममा कुनै एक विशिष्ट व्यक्तिलाई यो उपाधि प्रदान गर्न गरिने गरिएको मिनापका अध्यक्ष परमेश झाले बताए ।

यसपाली प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, पूर्व उपप्रधानमन्त्री एवं कांग्रेसका उपसभापति विमलेन्द्र निधि, कांग्रेस नेता प्रदीप गिरि र पूर्व मन्त्री मातृकाप्रसाद यादवको नाउँ चर्चामा रहेको छ । यी मध्ये नै कुनै एकजनालाई महामूर्खको उपाधि प्रदान गरिने छ मिनाप स्रोतले जनाएको छ ।

जानकी मन्दिरको प्राङ्गणमा हुने सो महामूर्ख सम्मेलनमा गत वर्ष जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो । सो महामूर्ख सम्मेलनमा महामूर्खका अतिरिक्त अन्य व्यक्तिहरुलाई पनि विभिन्न मूर्खको उपाधि प्रदान गरिने छ । बैशाखनन्दन, डपौरशंखको,लोढाशंकर (मुर्ख), मुसरीलाल, हराशंख, बज्रकीट, वोतलानन्द,, बंशकुरहरी, चपाटनन्दन, खेसारीलाल, मनतोरिया र जिलेविया मूर्खको उपाधी प्रदान गरिने छ ।

उपाधि प्राप्त गर्न सफल भएका व्यक्तिलाई बिभिन्न तरकारीसहितको माला पहिर्याइ गर्छन् भने ब्यंगात्मक तस्वीरसहितको चित्रकला पनि प्रदान गरिने तयारी भइरहेको छ । महामूर्ख सम्मेलनमा हजारो दर्शकहरू सहभागी हुने छन् । समारोहमा होलीको गीत एवं व्यंग्यात्मक कवि सम्मेलन समेत हुने मिनापका पूर्व अध्यक्ष सुनिल मल्लिकले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्