क्वारेनटाइनमा अब आफैँ आएर बस्नु पर्छ : स्वास्थ्य मन्त्री ढकाल




स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकहरू सेल्फ क्वारेनटाइनमा बस्नुपर्ने बताएका छन् ।

ज्वरो आएमा परीक्षण गर्ने व्यवस्था मिलाइएको र कोरोनाभाइरस संक्रमण शंका लागेमा राज्यले नै उपचारको व्यवस्था मिलाउने उनले बताए । ‘अब सेल्फ क्वारेनटाइनमा मानिसहरू बस्नुपर्छ,’ उनले भने, ‘के गर्ने के नगर्ने भन्ने प्रोटोकल हामीले तयार पारिसकेका छौं । घरमा बस्दा एक अर्का सदस्यसँग कति दूरीमा बस्नेलगायतका कुरा प्रोटोकलमा छ ।’

उनले ज्वरो र रूखाखोकी आएमा परीक्षणको व्यवस्था मिलाइएको बताए । ‘परीक्षण गर्दा अस्पतालमै राखेर थप उपचार गर्नुपर्ने अवस्था देखिए मात्रै राज्यले जिम्मा लिन्छ,’ मन्त्री ढकालले भने । सत्तारूढ नेकपाको भातृ युवा संगठन राष्ट्रिय युवा संघ नेपालले बुझाएको ध्यानाकर्षण पत्र बुझेपछि मंगलबार मन्त्रालयमा मन्त्री ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेनटाइनमा राखे जसरी अब राख्न नसकिने पनि बताएका छन् ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफै क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए। ‘कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिम्मा सरकार लिन्छ,’ उनले भने। क्वारेनटाइनमा राख्नुपर्ने अवस्था देखिए खरिपाटीमा राखिने उनले बताए । ‘क्वारेन्टाइन भन्ने वित्तिकै मान्छेहरुले हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौँ । अब सेल्फ (आफै) क्वारेन्टाइनमा मान्छे बस्नुपर्छ,’ उनले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्