विभागले भन्यो- औषधिको अभाव छैन, किनेर थुपार्न पर्दैन र जथाभाबी रुपमा नबेच्न निर्देशन



काठमाण्डौ । सरकारले जथाभाबी रुपमा औषधि नबेच्न निर्देशन दिएको छ । पछिल्लो समय कोरोना भाइरस फैलने डरले उपभोक्ताले औषधि पनि भण्डारण गर्न थालेको पाइएको भन्दै सरकारले जथाभाबी औषधि नबेच्न निर्देशन दिएको हो ।

जथाभाबी खाइने औषधिले स्वास्थ्यमा असर गर्ने भएकाले डाक्टरको सिफारिसबिना औषधि नबेच्न पनि औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । विभागले बिरामी पुर्जी तथा बिलबीजकको परीक्षण गर्दा अनावश्यक रुपमा औषधि बेचेको पाइए कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

यस्तै भारतले निर्यातमा रोक लगाएको भनिएका १३ प्रकारका औषधिका कच्चा पदार्थ तथा तयारी औषधि अभाव नरहेको र विकल्पमा औषधि पर्याप्त रहेकाले किनेर नथुपार्न पनि विभागले आग्रह गरेको छ ।

पछिल्लो समय ह्याण्ड स्यानिटाइजर (हात सफा गर्ने तरल पदार्थ), मास्क (मुखावरण) र औषधिको अभाव हुन नदिन उत्पादक, पैठारीकर्ता, थोक बिक्रेता र खुद्रा बिक्रेतासँग छलफल भइरहेको पनि विभागले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्