महामारीको ‘उच्च अवस्था’सँग जुझ्न अमेरिका सक्षम रहेको ट्रम्पको दाबी



दुई सातामा कोरोनाभाइरसको महामारी ‘उच्च विन्दुमा पुग्दा’ त्योसँग जुझ्न अमेरिका ‘निकै राम्रो अवस्थामा’ हुने राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।

त्यसबेलासम्म अन्य राज्यहरूलाई भेन्टिलेटर र अरू स्वास्थ्य सामग्री पठाउन सकिने अवस्थामा पुगिने उनको दाबी छ।

ह्वाइटहाउसमा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्पले भने: “अहिले हामीकहाँ कम्तीमा १० कम्पनीहरूले भेन्टिलेटरहरू बनाइरहेका छन्।” ट्रम्पका अनुसार अहिलेसम्म आठ हजार एक सय भेन्टिलेटरहरू निर्माण गरेर पठाइसकिएको छ।

“मिसिगनमा थप चार सय, न्यूजर्सीमा तीन सय, इलिनोइ र लुजिआना प्रत्येकमा १५० र कनेटिकटमा ५० को सङ्ख्यामा भेन्टिलेटर पठाइनेछ।” एक दिनअघि भने ट्रम्पले गभर्नरहरूलाई महत्त्वपूर्ण स्वास्थ्य उपकरणहरू लुकाएर राखेको आरोप लगाएका थिए।

तर ट्रम्पले पुन: भने: “केही राज्यहरूले आफूहरूलाई चाहिनेभन्दा बढी सामग्री थुपारेर राखेका छन्।” फोर्ड मोटर कम्पनीले सय दिनभित्रै ५० हजार नयाँ भेन्टिलेटरहरू बनाउने ट्रम्पको भनाइ छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्