कसले पट्काउँदै छ बम ?



सैघाली खबर

दाङ, १४ मंसिर ।मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले दाङको तुलसीपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दैगर्दा पाँच सय मिटर टाढा बम पड्कियो। अज्ञात समुहले बम राखेर गएको केहीबेरमा पड्किदा सर्वसाधारणको सुरक्षा खटेका म्यादी प्रहरी विनोद चौधरी घाइते भए।

गम्भीर घाईते चौधरीको को उपचारको क्रममा बुधबार बिहान निधन भयो।बुधबार उदयपुरको नेपालटारमा बम पड्कदा क्षेत्र नम्बर २ का निवर्तमान कांग्रेस सांसद तथा प्रतिनिधि सभाका उम्मेद्वार नारायण कार्कीसहित चार जना गम्भीर घाईते भएका छन्। कार्कीलाई बुधबारै हेलिकप्टरबाट काठमाडौं ल्याईएको छ।

मंगलबार पनि उदयपुरमा प्रदेश सभा सदस्यका उमेद्वार तथा अर्का कांग्रेस नेताको घरमा बम विस्फोट गरिएको थियो।चुनावलाई लक्षित गर्दै उम्मेद्वार र तीनका घरमा दिनहुँजसो बम पड्कन थालेका छन् ।अहिलेसम्म पछिल्लो १ महिनाको अवधिमा ६० भन्दा बढी स्थानमा बम पड्केको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। राजनीतिक पार्टीका तीन दर्जन नेता तथा कार्यकर्ता घाइते भइसकेका छन्।

केही दिन अघिसम्म खैलाचीझैं लाग्ने बम बिस्फोटका घटना गम्भीर हुन थालेका छन्।मंगलबार दाङमा एक निर्दोष नागरिकको ज्यानै गएपछि विभिन्न प्रश्न उब्जिएका छन्।यसरी जथाभावी बम पड्काउने को हो त्यसको निराकरण के हो यो श्रृखंला कहाँ पुगेर रोकिन्छ राज्यले यसको नियन्त्रणका लागि के गर्दैछ।यी कुनै पनि प्रश्नको यकिन जवाफ छैन।बम पड्कने क्रम नरोकिएपछि प्रहरी प्रधान कार्यालयले त्यसबारे अनुसन्धान गर्ने जिम्मा विशेष ब्यूरोलाई दिएको छ।

प्रहरीले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलेनै बम पड्काएको दाबी गरेको छ।‘बम पड्काउने अरु कुनै समूह हुनै सक्दैन,’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने, ‘यो विप्लवकै कार्यकर्ताले गराएका हुन्, किन भने उनीहरुले चुनाव भाड्ने निर्णय पार्टी बैंठकबाटै गराएको हामीले पत्ता लगाएका छौं।’

ती अधिकारीले देशका विभिन्न स्थानमा विस्फोटक पदार्थसहित विप्लवका कार्यकर्ता पक्राउ परेको पनि दावी गरे। ‘उनीहरुबाट चुनाव भाड्ने किसिमका पर्चा पम्प्लेट पनि बरामद गरेका छौं उनले भने।चुनावमा भाग नलिन, मतदान नगर्न विप्लवका कार्यकर्ताहरुले उमेद्वार र सर्वसाधारणलाई समेत तर्साइरहेका बेला बम पड्काउने अरु को हो भनेर सोचिरहनु नपर्ने अर्का प्रहरी अधिकारीले भने ।

 

त्यही भएर नेपाल प्रहरीले विप्लवका कार्यकर्ता पक्रन मातहतका निकायलाई निर्देशन दिएको छ।अहिलेसम्म देशभरबाट झण्डै ५ सयको हाराहारीमा विप्लवका कार्यकर्ता पक्राउ परेको ती प्रहरी अधिकारीले बताए।बम पड्कने क्रम भने रोकिएको छैन।प्रहरीले विप्लवका कार्यकर्ता पक्राउ गरे पनि माथिल्ला तहका नेताहरु पक्राउ गर्न सकेको छैन। विप्लव आफ्ना शीर्ष नेतासहित भूमिगत भएको प्रहरी बताउँछ।तर बम पड्काउनेमा विप्लवका कार्यकर्ता मात्र सामेल नभएको अर्का प्रहरी अधिकृत बताउँछन् ।

चुनावको मौका पारेर पूर्वी पहाडी जिल्लाहरुमा लिम्बुवान र मधेसमा मधेसकै असन्तुष्ट पक्षहरु बम पड्काउने कार्यमा सरिक भएको ती सुरक्षा अधिकारीले जानकारी दिए।चुनावमा आफ्नौ प्रभाव देखाउन लिम्बुवान र जनजाति संगठनहरु पनि आपराधिक कृयाकलापमा सक्रिय भएको हामीले पाएका छौं,’ उनले भने।मुलुका बिभिन्न भागमा फरक फरक समूहले बम पडकाउन थालेपछि त्यसले बिस्तारै सुरक्षाको वातावरण बिगार्दै लैजाने प्रहरी अधिकृत बताउँछन्।‘यस्ता छिटपुट समूहहरु पनि एक अर्काका कारण उत्साही हुँदै जान्छन्,’ ती प्रहरी अधिकृतले भने, ‘त्यसले थप चुनौती बढाउँदै लैजान्छ।’विप्लवको बम पडकाउने काम कहाँ पुगेर, कहिले रोकिन्छ त्यसको उत्तर कसैसँग पनि छैन।

यो बम श्रृंखला चुनावलाई लक्षित गरेर मात्र चलाईएको र चुनाव पछि कम हुनसक्ने आँकलन नेपाल प्रहरीको छ।तर प्रहरी भित्रकै कतिपय अधिकृत बम पड्काएर भूमिगत भइसकेका चन्दका नेता कार्यकर्तालाई अब खुल्लम खुल्ला हिड्न सहज नहुने बताउँछन्।‘आफूले पडकाएको बमले मान्छे नै मरिसकेपछि उनीहरुलाई फर्किन झनै अप्ठा्यारो पर्छ,’ उनले भने।तर सधैंका लागि भूमीगत भएर माओवादीले जस्तो अर्को ‘युद्व’ गर्न पनि अव विप्लवलाई सजिलो नभएको ती अधिकृत बताउँछन्।

‘उनका सबै कार्यकर्ता चिनिएका छन्, भू(राजनीति पनि हिजो जस्तो सजिलो छैन, उनी तर्क गर्छन्।चिन्दैमा प्रहरीले पक्रन सक्छ भन्ने हैन। त्यसो हुँदो हो त अहिले विप्लवका सबै मुख्य नेता कार्यकर्तानै जेलमा वा कम्तिमा थुनामा हुनुपर्ने हो।दोस्रो चरणको चुनाव आउन लाग्दा जसरी बम पड्कने क्रम तिब्र भएको छ, जसरी मानिसहरु घाइते हुने क्रम बढेको छ, या ज्यानै जान थालेको छ, त्यसले गम्भीर प्रश्न र चुनौति खडा गरेको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्