लकडाउनमा प्रभावकारी बन्दै ‘एक कल समस्या हल’ सेवा



दाङ, बैशाख ६ । दाङका युवाहरुले सुरु गरेको ‘एक कल समस्या हल’ सेवा प्रभावकारी बन्दै गइरहेको छ । जिल्लाको घोराहीका अमर अधिकारी र भ्युराज थापा मगरले सुरु गरेको ‘एक कल समस्या हल’ सेवा लकडाउनको समयमा घरमै सामग्री प्राप्त गर्ने गतिलो माध्यम बनेको हो ।

उपभोक्ताहरुलाई छिटो भन्दा छिटो र सर्वसुलभ मूल्यमा घरदैलोमा सेवा तथा सुविधा पुर्याउने उद्देश्यले ‘एक कल समस्या हल’ सेवा सुरु गरिएको भन्दै व्यवसायी अमर अधिकारीले लकडाउनको समयमा अत्यावश्यक सामग्री घरैसम्म पुर्याइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ३ वर्ष अगाडिदेखि ‘एक कल समस्या हल’ सेवा सुरु गरेको भन्दै व्यवसायी अधिकारीले विगतको बेलामा उपभोक्ताहरुलाई सेवा दिन पाउँदा खुसी लाग्ने गरेको जानकारी दिनुभयो ।

फोन र अनलाइनमार्फत् सेवाग्राहीलाई किराना सामग्री, खाना, नास्ता, प्लम्बिङलगायतका विभिन्न सेवाहरु दिइरहेको भन्दै व्यवसायी अधिकारीले भन्नुहुन्छ, ‘हिजोको दिनमा हामीसँग सेवा लिने १ सय ५० जना मात्र नियमित ग्राहक हुनुहुन्थ्यो भने चौथो वर्षमा प्रवेश गरेसँगै दैनिक २०/३० जना नयाँ ग्राहक थपिनुभएको छ र अहिले हामीसँग सेवा लिने २ हजार बढी नियमित ग्राहकहरु हुनुहुन्छ ।’

‘एक कल समस्या हल’ सेवा सुरु गर्दाको समय सम्झिदै व्यवसायी अधिकारी थप्नुभयो, ‘सामान कस्तो हुन्छ ? र मूल्य बढी पो पर्छ कि भनेर धेरैलाई डर थियो । तर, सेवा लिई सकेपछि सबैले ओहो बजारकै मूल्यमा गुणस्तरीय सामान पाइने रहेछ भन्न थाल्नुभएको छ ।’ आफ्नै ठाउँमा केहि नयाँ काम गर्ने सोचले यो काम सुरु गरेको भन्दै अधिकारीले अहिले ४ जनालाई रोजगारी दिनुभएको छ ।

बिहान ७ वजेदेखि बेलुका ७ वजेसम्म ‘एक कल समस्या हल’ ले सेवा दिइरहेको भन्दै व्यवसायी अधिकारीले घोराही वजारको ६ किलोमिटरभित्र सेवा दिँदै आइरहेको जानकारी दिनुभयो । ‘एक महिना अगाडिसम्म दिनको २/३ घण्टाभित्र डेलिभरि दिन्थ्यौं । तर, अहिले लकडाउनले गर्दा अलि समय लाग्ने गरेको छ र ई सेवाबाट पैँसा तिर्ने ग्राहकहरुलाई हामी १% छुट दिने गरेका छाै‌ँ’, संचालक अधिकारी भन्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्