लकडाउनमा नवलपरासी पश्चिमका किसानलाई तरकारी बेच्न समस्या, घाटामा तरकारी बेच्न किसान बाध्य



रबिन्द्र यादव / नवलपरासी पश्चिम ,१९ बैशाख

लकडाउनले तरकारी विक्री नभएपछि नवलपरासी पश्चिमका किसानहरु चिन्तित भएका छन् । यतिबेला खेतीबारीमा तरकारी तयार भएपनि लकडाउनले बजार बन्द भएका कारण उत्पादन भएका तरकारीहरु चाहिएको मात्रामा विक्री हुन नसकेपछि किसानहरु झन चिन्तित बनेका हुन् । देश यतिबेला कोरोना भाईरसको संक्रमण रोकथामका लागि लकडाउनमा छ । जसकारण जिल्लाका ठुला–साना बजारहरु पुर्ण रुपले बन्द छन् । खेतमा तयार तरकारीहरु विक्री हुन नसकेर किसानहरु आफैँ गाउँ–गाउँ डुली थोरै मात्रामा विक्री वितरण गर्दै आएका छन् । हाटबजारहरु बन्द र चोक–चोकमा तरकारी पसल राख्दा भिडभाड बढने सम्भावनाले स्थानिय तह र प्रशासन पसल राख्न रोक लगाउदै आएका छन् भने यता असिनापानीले तयार तरकारीमा थप क्षति भैरहेको व्यवसायिक तरकारी खेती गर्ने किसानहरु गुनासो पोखेका छन् ।

जिल्लाको प्रतापपुर गाउँ पालिका ६ कठहवाका इन्देश पासीले हाल २ बिगहामा तरकारी खेती गरेका छन् । पहिला उनीकहाँ तरकारी किन्न व्यपारीनै आउँथे तर अहिले लकडाउन र बजार बन्दका कारण उनी आफै साईकलमा राखी तरकारी बेच्दै आएको बताउछन् । घरमा उनी र उनको श्रीमति अामाबुबा मिलेर तरकारी खेती गर्दै आएका छन् । उनको खेतमा अहिले लौका, बोडी,खुर्सानी, करेला, टमाटर, फर्सि, घिरौला, भिण्डी, साग, धनिया लगायत तरकारी तयार छ । बार्षिक उनी खर्च कटाएर बार्षिक १५ लाख रुपैया आम्दानी गर्ने गरेको बताउछन् । तर यसबर्ष लकडाउनले तयार तरकारी व्यापक रुपमा विक्री वितरण नभैरहेको तर यसको प्रचार प्रसार पनि हुन नसकेको दुखेसो पोखेका छन् । उनलाई तरकारी खेती गर्न न त प्रदेश सरकार न त स्थानिय सरकारले आर्थिक सहयोग गरेको गुनासो गरे । बजारमा साठी रुपैया टमाटर रहेकोमा उनले १० रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता रहेको पासीले बताए । पासीका अनुसार लकडाउन पहिला व्यापारी काठमाडौ बाट गाडी लिएर अाउथे र खेतबारीबाट नै लैजान्थे तर अहिले कुनै व्यापारी नअाएपछि उत्यपादित तरकारी खेतमै सुक्न थालेको बताए ।

नेपाल कृषि प्रधान देश भएपनि किसानले उत्पादन गरेको तरकारी उचित बजार नपाउदा झन समस्यामा परेका छन ।
यता लकडाउन भएपछि जिल्लाको विभिन्न क्षेत्रमा भारतीय तरकारीहरुको विगविगिले स्थानिय कृषि उपजहरु बजार पाउन नसकेको किसानहरु बताउछन् । यस्तो बेलामा स्थानिय प्रशासनले भारतीय तरकारीमा रोक लगाउने र स्थानिय तरकारीहरुलाई प्राथमिकतामा राखी विक्री वितरणको वातावरण बनाउन कृषकहरु माग गरेका छन् ।

जिल्लाको ७ वटै स्थानिय तहमा तरकारी खेती हुदै आएपनि जिल्लाको पाल्हीनन्दन, सरावल, प्रतापपुर, सुस्ता गाउँपालिका तरकारीको पकेट क्षेत्रको रुपमा लिइने गरिन्छ । यतिबेला जिल्लामा २५ सय हेक्टर क्षेत्रफलमा तरकारी खेती हुदै आएको छ करिब ३० हजार मेट्रिक टन तरकारी उत्पादन हुदै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्