त्रिशुलीमा हराइरहेको बस भेटियो, सात यात्रु अझै बेपत्ता



 

सैघाली खबर,
चितवन १७ मंसिर।
मंसिर १३ गते बिहान त्रिशुलीमा हराइरहेको बस दुई दिनपछि क्रेनको मद्दतले तानिएको छ ।
बस ध्वस्त अवस्थामा फेला परेको , तर, बसमा सवार सात यात्रु भने अझै  नभेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले बताउनु भयो ।

काठमाडौंबाट अर्घखाँचीका लागि छुटेको लु।२ख २९१ नम्बरको बस दुर्घटनामा परेको थियो । घटनामा मृत्यु भएका आठ यात्रुको शव फेला परेको छ । शिक्षक, पत्रकार, व्यवसायीलगायतका व्यक्ति घटनामा परेका थिए ।

दुर्घटनामा परेका आठमहिने शिशु भने बाँचेका छन् । तर, उनकी आमा भने बेपत्ता छिन् । अर्घाखाँचीको सन्धिखर्क–१ निवासी आमा मनीषा थापा त्रिशुलीमा बेपत्ता छिन् । बसचालक कपिलवस्तुका ४० वर्षीय यमबहादुर क्षेत्री, सहचालक प्युठान झिमु्रक–२ का १९ वर्षीय सुनील क्षेत्रीको उपचार भइरहेको छ ।

घाइतेहरूमा ६ महिनाको बालक, अर्घाखाँची भूमिकास्थान–४ की २१ वर्षीया इन्दिरा दमासे, उनका भाइ २० वर्षका सन्दीप दमासे, सन्धिखर्क–८ का ३० वर्षका गोविन्दबहादुर सुनार, सोही ठाउँका ३१ वर्षका राजेन्द्र रायमाझी, कोहलपुरकी ३१ वर्षीया उमा पोखरेल र खना गाउँ अर्घाखाँचीका ४२ वर्षीय माधव खनाल रहेका छन् । अन्य पाँचजना घाइतेको काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले बस दुर्घटनामा सात यात्रु अझै हराइरहेका बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्