जेठ महिनामा भारतबाट एक लाख १६ हजार नेपाली भित्रिए, कोरोना परीक्षण चार प्रतिशत मात्र




काठमाण्डौँ, असार १
भारतबाट सुदूरपश्चिमका चार नाका भएर एक लाख १६ हजार बढी नेपाली भित्रिएका छन । जेठ महिनामा मात्रै १ लाख १६ हजार ५ सय नेपाली सुदूरपश्चिम भित्रिएका हुन् ।

सबैभन्दा बढी कैलालीको त्रिनगर नाका भएर भारतमा अलपत्र नेपाली भित्रिएका छन भने सबैभन्दा कम दार्चुलाको नाका भएर भित्रिएका छन । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेठको २७ दिनमा त्रिनगर नाका भएर मात्रै ७८ हजार बढी नेपाली भित्रिएका छन ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार त्रिनगर नाका भएर भित्रिएका मध्ये अधिकासं सुदूरपश्चिम प्रदेशकै छन् ।

गड्डाचौकी नाका भएर जेठ महिनामा झण्डै २८ हजार, बैतडीको झुलाघाट नाकाबाट जेठमा झन्डै १० हजार र दार्चुलाको नाकाबाट साढे तीनसय नेपाली भित्रिएका छन ।

जेठ महिनामा मात्रै एक लाख १६ हजार बढी नेपाली सुदूरपश्चिम भित्रिए पनि कोरोना परीक्षण भने चार प्रतिशतको पनि भएको छैन । स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म सुदूरपश्चिममा आठ हजार बढिको कोरोना परीक्षण भएकोमा जेठमा मात्रै ५ हजार ५ सयको परीक्षण भएको छ ।

जेठमै आन्तरिक ट्राभल हिस्ट्री मात्रै भएका शंकास्पद बिरामी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार पनि परीक्षण भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार जेठमा ५ हजार ५ सयको कोरोना परीक्षण गरीएकोमा भारतबाट फर्किएका चार हजारको मात्रै परीक्षण भएको छ । जेठमा मात्रै सुदूरपश्चिम प्रदेशमा २ सय ५० जनाा कोरोना संक्रमित थपिएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्