लगातार पानी पर्दा देउखुरी जलमग्न , वर्षातले देउखुरीमा एक घर र विद्यालयको पर्खाल भत्कियो



ओमप्रकाश गुप्ता , सिसहनियाँ ६ असार । अविरल बर्षाका कारण दाङ देउखुरीको अधिकांश ठाउँ जलमग्न भएको छ । पानीको निकास नहुँदा अधिकांश ठाउँ जलमग्न भएको हो । गढवा गाउँपालिका वडा नं. ५ को बोधिपुर र त्यस आसपासको गाउँ जलमग्न भएको स्थानीय हिमा अधिकारीले जानकारी दिएकी छिन् । राप्ती नदी र खहरे खोलामा पानीको सतह बढ्यो भने खतरा थपिन्छ ।’ भर्खरै रोपेको धान खेतमा थुनिएको पानी पस्दा धान बगाएको छ ।

एक दिन अघि धान रोपेका किसान शनिबार परेको पानीले समस्यामा परेका छन् । यो पानीले कसैलाई खुशी बनाएको छ भने, कसैलाई दुःखी बनाएको छ । पानी धेरै परेपछि गढवा र राप्ती गाउँपालिकाको लालमिटया क्षेत्रमा रहेको वर्षा मापन केन्द्रमा चेतावनी घण्टी बजेको छ । चेतावनी साइरन बजाएर नदी तटिय र जोखिममा रहेका समुदायमा सचेत हुन अनुरोध गरिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका तथ्यांक व्यवस्थापक विनायक पौडेलले बताए ।

यस्तै कालाकाटे सिक्टा सडक खण्ड निर्माणको क्रममा नाली पुरिएपछि गढवा गाउँपालिका वडा नं. २ कोठरी गाउँ डुवानमा परेको छ । सडक निर्माणको क्रममा यस अघि बनाइएको पानी निकास पुरिएपछि कोठरी गाउँ डुवानमा परेको स्थानीय घनश्याम चौधरीले जानकारी दिए । झण्डै ५० घरमा पानी पसेको उनले बताए । घरमा पानी पस्न थालेपछि गाउँलेहरुले निर्माणाधीन सडक खनेर पानीको निकास खोलेका छन् । दाङमा मध्यराप्ती जलाधार क्षेत्र र बबई जलाधार क्षेत्रका ६८ समुदाय बाढीको उच्च जोखिममा छन् । ती समुदायलाई बाढीबाट सुरक्षीत राख्न यस अघि पूर्व सूचना प्रणालीको अभ्यास गराइएको छ । अहिले सम्म मध्य राप्ती र बबई क्षेत्रको जलसतह सामान्य अवस्थामा रहेको छ ।

यता राप्ती गाउँपालिकाको वडा नम्बर ५ को लठ्ठहवा,पहरूवा,कालापानी लगायत किसानको खेतमा भर्खर लगाएको धानबाली तथा व्याड डुवाएको छ । भने ती गाउँहरू जलमग्न भएका थिए । पानी पर्न छोडेपछि पानीको सतह घट्दै गएको बताइएको छ  ।

यस्तै शुक्रबार देखिको लगातार वर्षातका कारण देउखुरीको राप्ती नदीमा बाढी आएको छ । राप्तीमा आएको बाढीले देउखुरीका किसानले लगाएको मकै, धान, बदाम, तरकारीमा क्षतिपुगेको छ । लगातारको वर्षातले लमही नगरपालिका वडा नम्बर ८ सतबरियाका छेदु चौधरीको कच्ची घर भत्किएको छ । आर्थिक अवस्थाले पनि कम्जोर भएका चौधरीको पांच जनाको परिवार छ । अर्कैको ज्यालामजदुरी गरेर परिवार पाल्दै आएका चौधरीको लगातारको वर्षाले झनै पिडा थपिदिएको छ ।
सिट्ठाले बारेको कच्ची घर, तिन को छानो भएको घरको एकातिरको भित्ता भत्किएको छ । चारैतिर पानीले घेराबन्दी गरेपछि उक्त घर भत्किएको स्थानीयले बताए । घर भत्किदा छेदु चौधरी अर्काको खेतमा कम गर्न गएको उनका श्रीमतीले बताईन । घर भत्किदा लत्ताकपडा, अन्नपात सबै भिजेका छन् ।
त्यस्तै लगातारको वर्षातका कारण लमही नगरपालिका अन्तर्गतका फचकपुर, गिधिनिया, बनाघुस्री र हसनापुरको खेति गर्ने क्षेत्र, त्यस्तै वडा नम्बर १, २, ३, ४, ५, ६ र वडा नम्बर ७ का केहि क्षेत्रमा पनि डुबान भएको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताए । उता राप्ती पारि राजपुर गाउँपालिकाका बिभिन्न बस्तीमा राप्तीमा आएको बाढी र खहरे खोलाले क्षति पुराएको स्थानियहरुले बताएका छन् । लमही नगरपालिका वडा नम्बर ८ मा किसानले लगाएको धानको ब्याड , रोप्नलाई तयार पारेर राखेको ब्याड समेत राप्तीले बगाई दिएको छ ।
लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीका अनुशार बाढीले नगरका कुन कुन क्षेत्रमा क्षति पुर्याएको छ अथवा कुन कुन बस्ति डुबान गरेको छ सबैको बस्तुस्थिति बुझेर सक्दो सहयोगका लागि प्रक्रिया अघि बढाउने बताए ।
लमही नगरपालिकाका सबै जसो वडाका बस्तीमा बाढी पस्ने गर्दछ कतै बढी क्षति गर्छ भने कतै थोरै । राप्तीको तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरु रातभर जाग्राम बसेको बताए । कति बेला राप्तीमा बाढी आउछ भन्ने चिन्ताले निद्रा नलागेको उनीहरुको भनाई छ । राप्ती नदीले प्रत्यक्ष असर नगर्ने बस्तीलाई चुरे बाट झरेका खहरे खोलाले सताउने गरेको छ ।
राप्तीको किनारमा बस्नेहरुलाई यस्तो समस्या वर्षेनी आउने गर्दछ । आर्थिक अवस्था बलियो हुनेहरुले सुरक्षित स्थान रोजेर बसाई सरि सकेका छन् भने जो ज्याला मजदुरी गरेर ज्यान र परिवार पाल्नेहरू अझै पनि जोखिम मोलेर सोहि स्थानमा बस्न बाध्य छन् ।
त्यस क्षेत्रमा सैयौ बिगाह जमिनमा लगाएको मकै खेतीमा पनि क्षति पुर्याएको छ । लामो समय सम्म पानी नपर्दा खेती गर्ने किसान चिन्तित भएका थिए । यो वर्षातले कतै खुशी दिएको छ भने कतै किसानलाई पिडा थपिदिएको छ । गर्मीयाम भरि दुख गरेर फलाएको तरकारी र मकै बालि एकै दिन परेको पानीले आएको बाढी संगै हराउदा दुख लागेको किसान जोखन चौधरीले गुनासो गरेका छन् ।

बाढीले विद्यालयको पर्खाल भत्कियो
नियमितको वर्षातका कारण भालु दोन्द्रे खोलाले गढवा गाउँपालिका वडा नंं ५ स्थित माध्यामिक बिद्यालय चैनपुरको पर्खाल भत्काएको छ । आज बिहान करिब ५ बजे तिर खोलाले पश्चिम तर्फको पर्खाल भत्काएको गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा विपत ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले जानकारी दिए । त्यस्तै गढवादेखि राजपुर जोड्ने मानपुर खोलामा आएको बाढीले खोलामा लगाएको तटबन्ध बगाईदिदा आवतजावत अबरुद्ध भएको छ ।

बितेको आर्थिक वर्षमा वडा नम्बर ५ को कार्यालय बाट ६ लाखको बजेट बाट बिद्यालयको पर्खाल निर्माण भएको थियो । त्यस्तै सोही बिद्यालयको उतर तर्फको पर्खालमा समेत खोलाले क्षति पुर्याएको छ । अविरल परेको पानीका कारण खोलामा बाढी आएको थियो । खोलामा आएको बाढी बिद्यालय भित्र समेत पसेको थियो । खोलाको बेग अत्याधिक भएकै कारण बिद्यालयको पर्खाल भत्किएको वडाध्यक्ष भण्डारीले बताए ।

माध्यामिक बिद्यालय चैनपुर क्वारेन्टाइन पनि हो । त्यहाँ अहिले चार जना महिला र उन्निस जना गरि तेईस जना रहेका छन । एक्कासि खोला बिद्यालय परिसरमा पस्दा आफुहरु अताल्लिएको क्वारेन्टाइनमा बसेकाहरुले बताए । लगातार परेको पानीका कारण चुरे पहाड बाट झरेका खहरे खोला र राप्ती नदीले देउखुरीबासीलाई त्रसित बनाएको छ । गढवा गाउँपालिका क्षेत्रमा कहाँ कति क्षति भएको छ भनेर वडाध्यक्ष प्रकाश भण्डारी, नेपाल रेडक्रस सोसाइटी गढवा उपशाखा सदस्य मोहन पाण्डे, तथा इन्कोर कार्यक्रमका सामाजिक परिचालन अधिकृत देबि प्याकुरेललगायतले अनुगमन गर्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्