जसले जोगाएन जमानत, दाङमा झण्डै चार लाख धरौटी जफत



गिरिराज नेपाली
दाङ, २९ मंसिर । भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दाङवाट उम्मेदवारी दिएका ६२ जना उम्मेदवारहरुले आफ्नो जमानत जोगाउन सकेन । प्रतिनिधिसभा तर्फका २४ जना र प्रदेशसभा तर्फका ३८ जना उम्मेदवारहरुले आफ्नो जमानत गुमाएका छन । जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार प्रतिनिधिसभा तर्फका क्षेत्र नं. १ मा दलगत तर्फका ६ जना र स्वतन्त्र ३ गरी ९ जनाले आफ्नो जमानत गुमाएका छन ।

जसमा संघिय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल लिलाराम चौधरी, राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाल, नेपाली काँग्रेस ‘विपी’ अशोक खड्का, संघिय समाजवादी फोरमका अशोक कुमार यादव, नयाँशक्ति पार्टी नेपालका होम प्रसाद शर्मा, नेकपा मालेका रेखा केसी र स्वतन्त्र तर्फका परशुनारायण चौधरी, गौरसिंह महर र सुरेन्द्र चौधरी रहनुभएको छ ।

त्यस्तै क्षेत्र नं. २ वाट प्रतिनिधिसभा सदस्य तर्फका ७ जना उम्मेदवारको जमानत जफत भएको छ । जसमा राष्ट्रिय जनमुक्ति पार्टीका ठाकुर रोका, स्वतन्त्र तर्फका बालाराम पौडेल, मंगोलियन नेशनल अर्गनाईजेशनका दिलमाया बुचा, संघिय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालका टेकमान बुढा, नयाँशक्ति पार्टीका गगन शाह र राष्ट्रिय जनमोर्चाका गणेश प्रसाद आचार्यको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

त्यस्तै दाङ क्षेत्र नंं ३ मा पनि प्रतिनिधिसभा सदस्य तर्फमा ८ जनाको जमानत धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकृत विजय कुमार कार्कीले बताउनुभयो । जसमा नयाँशक्ति पार्टी नेपालका हरिप्रसाद रिजाल, संघिय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालका शेर वहादुर आले ‘ मगर’ नेकपा मालेका हिमलाल चौधरी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका हिरामणी पौडेल, राष्ट्रिय जनमोर्चाकी कमला जिसी र स्वतन्त्र तर्फका नर वहादुर वंली , यादव भण्डारी र बालकृष्ण शर्मा रहेको कार्कीले बताउनुभयो ।

त्यस्तै गरी दाङ जिल्लामा प्रदेशसभा सदस्य तर्फमा तीनवटै निर्वाचन क्षेत्रमा गरी ३८ जनाको जमानत जफत भएको छ । दाङ क्षेत्र नं. १ को १‘ १ ’तर्फ ४ जना दलगत र १ जना स्वतन्त्र गरी ५ जना, १ ‘२’ मा दलत ७ र स्वतन्त्र १ गरी ८ जना , क्षेत्र नं. २ को २ ‘१ ’ मा दलगत ५ र स्वतन्त्र २ गरी ७ जना र २ ‘२’ मा दलगत तर्फ ६ र स्वतन्त्र १ जना गरी ८ जनाले आफ्नो जमानत फिर्ता लग्न नसकेको कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै दाङ क्षेत्र नं. ३ को १ मा दलगत तर्फका ६ र ३ को २ मा दलगत ४ र स्वतन्त्र १ गरी ५ जनाले जमानत गुमाएको कार्कीले जानकारी दिनुभयो ।

मंसिर २१ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रतिनिधिसभा तर्फ प्रति उम्मेदवार १० हजार र प्रदेशसभा सदस्यका लागि प्रति उम्मेदवार ५ हजार धरौटी कायम गरिएको जिल्ला निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकृत विजय कुमार कार्कीले जानकारी दिनुभयो । भने दलित, महिला अल्पसंख्यकहरुको हकमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । भने दलहरुले समानुपातिक तर्फ प्रतिनिधिसभा तर्फ ५० हजार र प्रदेशसभा सदस्य तर्फ २५ हजार धरौटी तोकेको थियो ।
निर्वाचन आयोगको निर्वाचन व्यवस्था अनुरुप सम्वन्धीत क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत मत सम्वन्धीत उम्मेदवारले लिनुपर्ने काननुी प्रावधान छ ।

तर दाङका ६२ जना उम्मेदवारहरुले १० प्रतिशत मत प्राप्त गर्न नसक्दा जमानत खोसिएको कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘जमानत गुमाउनेहरुमा सवै उम्मेदवारहरु सानादलका रहेको छन । ’ जमानत गुमाउनुको पहिलो आधार नै कमजोर जनाधार हो । जनमत केही पाए पनि कानुनी व्यवस्थाको मत ल्याउन नसक्दा जमानत फिर्ता दिन नलिक्ने उहाँले बताउनुभयो । प्रतिनिधिसभा तर्फ २ लाख २५ हजार र प्रदेशसभाख तर्फ १ लाख ७२ हजार ५ सय रुपैयाँ जफत भएको जिल्ला निर्वाचन अधिकृत विजय कुमार कार्कीले जानकारी दिनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्