समानुपातिकतर्फ कांग्रेसले मतान्तर ह्वातै घटायो, अहिले सम्म कुन दलको कति मत ? को अगाडि



सैघाली खबर,
काठमाडौं १ पुस, । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना शुक्रबार नै सकिने जनाए पनि गणनाको अन्तिम परिणाम थाहा पाउन शनिबार साँझसम्म कुर्नुपर्ने भएको छ । २ जिल्लाको गणना बाँकी रहेपछि समानुपातिकतर्फको अन्तिम परिणाम आउन ढिलाइ भएको हो ।

प्रदेश तथा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको गणना भने आयोगले बुधबार नै सकाएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले समानुपातिकतर्फको गणना द्रुत गतिमा भइरहेको जानकारी दिँदै शनिबार साँझसम्ममा सबैतिरको गणना सकिने बताए ।

आयोगका अनुसार, अहिले सुनसरी र सर्लाही जिल्लाको मतगणना भइरहेको छ ।

कांग्रेसले घटायो मतान्तर

मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा कांग्रेसले मतान्तर घटाएको छ ।

आयोगका अनुसार एमाले–कांग्रेसबीचको मतान्तर ५२ हजारको छ । मतगणनाका क्रममा एमालेले कांग्रेसलाई झण्डै १ लाख मतले पछि पारेको थियो । मतगणना अन्तिम चरणमा आइपुग्दा कांग्रेसले स्थिति सुधारेको मात्रै छैन, ३० लाख ६० हजार ८५० मत हासिल गरेको छ । एमालेले कांग्रेसको भन्दा ५२ हजार बढी अर्थात् ३१ लाख १२ हजार ७ सय ४७ मत प्राप्त गरेर अग्रता यथावत राखेको छ ।

नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादीको पक्षमा हालसम्म १२ लाख ७३ हजार ७७१ मत परेको छ भने संघीय समाजवादी फोरमले नेपालले चार लाख ५९ हजार ७१ बटुलेको छ ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले चार लाख ४७ हजार ५२९, विवेकशील साझा पार्टीले दुई लाख ११ हजार ४९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९३ हजार ८७२ मत हासिल गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्