बाँके र बर्दियामा पाटेबाघ गणना सुरु,कति होला न त पाटेबाघ



सैघाली खबर,
बर्दिया २ पुस। बाँके र बर्दियामा रहेका पाटेबाघको गणना सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय रहेको ठाकुरद्वारामा बनदेवीको पूजा गरेर बाघ गणना सुरु गरिएको छ । बाँके र बर्दिया निकुञ्ज कार्यालयले जारी गरेको संयुक्त विज्ञप्तिमा बाघ गणना सुरु भएको उल्लेख छ । प्राविधिकहरूले बाँके र बर्दिया निकुञ्जका ६ सय ६८ ग्रिडमा बाँडेर बाघ गणना गर्न थालेका छन् । बाघ गणना फागुन १ मा सम्पन्न हुने अनुमान छ । गणना कार्यमा ६ हजार ७ सय ८० जना गणक परिचालित हुने निकुञ्जले जनाएको छ ।
। प्राविधिकहरूले क्यामरा ट्यापमा पर्ने बाघ र पदचिह्न अनुगमन गर्नेछन् । गणना कार्यको तीन महिनामा पाटेबाघको तथ्यांक पत्ता लाग्ने अनुमान छ । बाघ गणनासँगै आहारा र प्रजातिको स्थिति गणना हुने निकुञ्जका संरक्षण अधिकृत अशोक भण्डारीले बताए ।
गणनामा डब्लुडब्लुएफ नेपाल, जेठएसएल र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोग रहेको छ ।
सरकारले वन्यजन्तुको बासस्थान विस्तार र जैविक मार्ग बढाउन, चुरे क्षेत्रको संरक्षण गर्न र बाघको संख्या वृद्धि गर्न ०६७ वैशाख ३० गते ५ सय ५० वर्ग किमिको बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र घोषणा गरेको हो । दुई राष्ट्रिय निकुञ्ज जोडिएर क्षेत्रफल बढेपछि बाघको संख्या बढेको कर्मचारीको अनुमान छ ।
नेपालमा सन् १९९५÷९६ मा वयस्क बाघको संख्या ९३ देखि ९७ रहेकोमा सन् २००९ मा यो संख्या बढेर १ सय २१ पुगेको र सन् २०१३ मा १ सय ९८ वटा रहेको तथ्यांक छ । २०१० मा रूसमा भएको सम्मेलनले सन् २०२२ सम्म बाघ पाइने १३ देशमा दोब्बर वृद्धि गर्ने प्रतिबद्धता जनाएयता नेपालमा बाघको संरक्षण र बासस्थान विस्तारमा चासो देखाइएको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्