कोरोना बीमा गर्नेको सङ्ख्या सात लाख नाघ्यो



काठमाडौं / ०६ भदौ।
पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ ।

सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम कोरोना बीमा गर्न थालेपछि बीमा गर्नेको सङ्ख्या साढे सात लाख पुगेको छ । बीमा समितिका अनुसार कोरोना बीमाबाट ४२ करोड प्रिमियम सङ्कलन भएको छ भने दाबीका लागि आउनेको सङ्ख्या पनि २६० भन्दा माथि लागेको छ ।

सुरुवातमा खासै आकर्षण नदेखिएको कारोना बीमा पछिल्लो समय लोकप्रिय बनिरहेको भन्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिनुभयो।

वैशाख ७ देखि सुरु भएको कोरोना बीमा कार्यक्रमले सुरुवातमा खासै उचाइ लिन नसके पनि चार महिनाको अवधिमा सङ्ख्या उल्लेख्य बढेको हो । त्यसो त दुई÷चार वर्षको अवधिमा बीमा व्यवसायले नै फड्को मारेको छ । समितिको असार महिनाको तथ्याङ्क अनुसार वैदेशिक रोजगारसहित २७ प्रतिशत जनतामा बीमा पुगेको छ । कोरोना बीमाले गाउँगाउँसम्म एउटा लहर पनि ल्याएको समितिले जनाएको छ ।

आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ पनि कोरोना बीमा कार्यक्रमले मान्छेको जीवनमा बीमा पनि अभिन्न अङ्ग हो भन्ने कुरा बुझाउन मद्दत गरेको बताउनुहुन्छ । कोरोना महामारीले बीमाकोमहत्वलाई बुझाएको भन्दै उहाँले सर्वसाधारणको आकर्षण पनि उल्लेख्य बढेको बताउनुभयो ।

बीमा दाबीका लागि बीमालेख खरिद गरेको १५ दिनपछि र स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएमा बीमालेख बमोजिमको कम्पनीले दाबी भुक्तानी गर्ने उहाँले बताउनुभयो ।

कति लाग्छ कोरोना बीमा गर्न
कोरोना बीमा कार्यविधि अनुसार कोरोना बीमाअन्तर्गत एक लाख र ५० हजार रुपियाँ गरी दुई प्रकारको बीमाङ्क तोकिएको छ । एक लाख रुपियाँको प्रतिव्यक्ति एक हजार र ५० हजारको प्रतिव्यक्ति पाँच सय रुपियाँ बीमा शुल्क रहेको छ । यदि परिवारको सम्पूर्ण सदस्यको बीमा गर्नुपरेमा एक लाख रुपियाँका लागि छ सय र ५० हजार रुपियाँको लागि तीन सय रुपियाँ शुल्क लाग्छ । बीमा गर्दा कुनै पनि नेपाली नागरिक भारतलगायत तेस्रो मुलुकबाट आएको भएमा १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइन र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात चाहिने व्यवस्था छ

कोरोना बीमा नयाँ अभ्यास
विश्वका धेरै मुलुकमा महामारीको बीमा गरिँदैन न त यस्ता कार्यक्रमको पुनर्बीमा नै हुन्छ । युद्ध र महामारीको बीमा नहुने विश्वव्यापी प्रचलन छ तर नेपालमा भने कोरोना भाइरस महामारीको बीमा गर्ने नीति बीमा समितिले अघि सारेर नयाँ अभ्यास गरेको छ । कोरोनाको बढ्दो सङ्क्रमणमा यस खालको बीमाको उपयोगिता देखिएको छ । गोरखापत्रबाट साभार ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्