टिकटकका कारण इन्टरनेटमा समस्या



काठमाडौँ  ।  टिकटकका कारण नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग बढेसँगै नेपाल दूरसञ्चार प्राधिकरणले अध्ययन अघि बढाएको छ । क्यास सर्भरको प्रयोग नहुँदा टिकटकका लागि खपत हुने अन्तर्राष्ट्रिय ब्यान्डविथ बढेको हो ।

ब्यान्डविथको खपत एक्कासि बढेपछि इन्टरनेट सेवा प्रदायकहरूले समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेपछि प्राधिकरणले अध्ययन अघि बढाएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

पछिल्लो समय टिकटकले मात्रै नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथको २५ प्रतिशत खपत गर्न थालेको छ । त्यसैले सेवा प्रदायकले अनौपचारिक रूपमा पिक आवरमा यसको ब्यान्डविथ सीमित पार्न थालेका छन् । यसले साँझ केही घण्टा टिकटक भिडियोको गुणस्तर कम हुनेछ ।

सेवा प्रदायकहरूले प्राधिकरणसमक्ष टिकटकको भिडियो रिजोलुसन सीमित पार्ने, क्यास सर्भर राख्न पहल गर्ने र नभए मूल्य बढाउनुपर्ने माग गरेको प्राधिकरण स्रोतले जनाएको छ । तर इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल (आइस्पान) अध्यक्ष भोजराज भट्ट भने मूल्य बढाउने विषयमा कुनै छलफल नभएको बताउँछन् । आइस्पानसँग विभिन्न विकल्पमा छलफल भएको प्राधिकरणका अध्यक्ष खनालको भनाइ छ । ‘टिकटकका विषयमा अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘अन्य देशको अभ्यास हेरेर रिजोलुसन सीमित पार्ने वा क्यास सर्भर राख्ने विषयमा छलफल गर्दै छौं ।’

केही सातायता टिकटक प्रयोगका लागि मात्रै नेपालमा १ सय ७५ जीबीपीएस ब्यान्डविथ खपत हुन थालेको सेवा प्रदायकले बताएका छन् । यो नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथको २५ प्रतिशत हो । लकडाउनपछि नेपालमा ७ सय जीबीपीएस ब्यान्डविथ भित्रिइरहेको छ । जेठ १ सम्म टिकटकले १३ जीबीपीएस मात्रै अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत गर्ने सेवा प्रदायकहरूको तथ्यांक छ । लकडाउनअघिसम्म टिकटकका लागि ७ जीबी मात्रै अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत हुन्थ्यो । लकडाउनका बेला बढेर १३ जीबीपीएस पुगेको थियो ।

आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्