दश नयाँ सहरहरु विकासका लागि परामर्शदाता नियुक्तिको प्रक्रियामा, कुन कुन शहर हुन त हेर्नुहोस



 

सैघाली खबर,
काठमाडौं, ५ पुस । सरकारले हुलाकी राजमार्ग वरिपरि दश नयाँ सहरको विकास गर्ने योजनालाई अगाडि बढाएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ सहर आयोजनाले हुलाकी राजमार्ग वरिपरि नयाँ सहर विकासका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया थालेको जानकारी सो आयोजनाका निर्देशक पराग कायस्थले दिनुभएको छ ।
सरकारले सडक ंविकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई मधेसको जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण गर्न लागिएको हुलाकी राजमार्गमा नयाँ दस सहरको विकास गर्न लागेको हो ।
उहाँका अनुसार छ वटा परामर्शदाताका लागि आवेदन आह्वान गरिएकोमा ४९ वटा आवेदन परेको र आर्थिक र प्राविधिक आधारमा सो आवेदनहरुको छनोट प्रक्रिया भइरहेको छ । पुस १४ गतेसम्म परामर्शदाता छनोट भई फागुन पहिलो सातादेखि एकीकृत विकास योजना निर्माण सुरु हुने जानकारी उहाँले दिनुभयो । मङ्सिर २ गते परामर्शदाताका लागि आवेदन आह्वान गरिएको थियो ।
छनोट भएका परामर्शदाताले छ महिनाभित्र एकीकृत विकास योजनाको तर्जुमा गरी प्रतिवेदन बुझाउने छन् र सो प्रतिवेदन मन्त्रालयबाट स्वीकृत गराएर नयाँ सहर विकास कार्यलाई अगाडि बढाइने जानकारी उहाँले दिनुभयो । यो आयोजनाका लागि चालु आर्थिक वर्षमा एक करोड ८६ लाख रुपियाँ विनियोजन गरिएको छ ।
आयोजना प्रमुख कायस्थले जमिनको उपलब्धता, जनसङ्ख्या, जनघनत्व, आर्थिक विकासको सम्भावना, गैर कृषिमा संलग्न जनसङ्ख्या, खानेपानीको स्रोत, बसाइँ सराइ, सरकारी सेवाको अवस्था, साक्षरता र सडकको पहुँचजस्ता एघारवटा सूचकको आधारमा सहर बसाउने क्षेत्र छनोट गरिएको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७२÷७३ को बजेट वक्तव्यमा सरकारले हुलाकी राजमार्गमा दस वटा नयाँ सहर विकास गर्ने अवधारणा अघि सारेको थियो ।
अहिले तराई–मधेसमा रहेका साविकका ५८ वटा नगरपालिका बाहेकका स्थानमा नयाँ सहरको विकास गर्न लागिएको जानकारी दिंदै उहाँले विकास गर्न लागिएका नयाँ सहरहरुको घोषणा तराईमा रहेका साविकका नगरपालिका, उपमहानगरपालिका बाहेक नवघोषित नगरपालिका, गाउँपालिका, बजार केन्द्र वा बस्तीहरुमध्ये मापदण्ड पूरा गरेर गरिने बताउनुभयो ।
त्यसैगरी, प्युठान र सुर्खेत जिल्लामा समेत दुई वटा नयाँ सहर विकास हुने भएका छन् । नयाँ सहर विकास आयोजनाका अनुसार प्युठान र सुर्खेत जिल्लामा दुईवटा नयाँ सहर विकासका लागि मन्त्रालय स्तरीय निर्णय भई स्वीकृत भई गुरुयोजना तर्जुमाको काम भइरहेको छ । प्युठानमा भिङ्ग्री बजार तथा सुर्खेतमा भेरी गङ्गा उपत्यका नामको नयाँ सहर विकास गर्न लागिएको हो ।
प्युठानमा भिङ्ग्री, गोठीबाङ, बर्जिबाङ, बेलबास र सारी सहित पाँचवटा गाविसलाई समेटेर नयाँ सहरको विकास गर्न लागिएको हो भने सुर्खेतमा भेरी गङ्गा नगरपालिका, शुभ गङ्गामाला नगरपालिकासहित अन्य पाँचवटा गाविस समेटेर नयाँ सहर निर्माण गर्न लागिएको हो । गोरखापत्र

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्