कृषि मन्त्री भूषालले माफी मागे



काठमाडौं । तोकिएको समयमा मल आयात गरेर किसानलाई वितरण गर्न नसकेपछि कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले क्षमा माग्दै दुःख व्यक्त गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले समयमै मल ल्याउन नसकिएको भन्दै दुःख व्यक्त गरेका हुन् ।

उनले आगामी दिनमा यस्तो गल्ती दोहोरिन नदिने प्रतिवद्धता समेत व्यक्त गरे । उनले मल आयात गर्न जिम्मा दिएको दुई वटा सप्लायर्स कम्पनीको सम्झौता रद्द गरी कारबाही गरिएको समेत बताए । जसमध्ये शैलुङ इन्टरप्राइजेज प्रा.लि. र होनिको मल्टिपल प्रा.लि. रहेको छ । कृषि समग्री कम्पनीले २०७७ वैशाख १२ गते (२०२० अप्रिल २४) शैलुङ इन्टरप्राइजेजसँग २५ हजार मेट्रिक टन र वैशाख १५ गते (२०२० अप्रिल २७ ) होनिको मल्टिपलसँग २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्नका लागि सम्झौता गरेको थियो ।

दुवै सप्लायर्सलाई २०७७ साउन ८ गते (२०२० जुलाई २३) भित्रमा तोकिएको मल अयात गरिसक्नुपर्ने समय सीमा तोकिएको थियो । त्यसपछि पनि २५ दिन थप गरिएकोमा उक्त मिति सम्म पनि मल सिपमेन्ट हुन नसकेपछि सम्झौता रद्द भएमो मन्त्री भुसालले बताए । उनले मल आयात गर्न नसक्ने दुवै सप्लायर्सको करिब १० करोड रुपैयाँ जफत गरिएको समेत बताए ।

उनले अहिले ३२ हजार ५ सय मेट्रिक टन युरिया कलकत्ता बन्दरगाहबाट नेपाल भित्रिरहेको र वितरण भइरहेको समेत बताए । उनले  ढिलो गरी मल आयात हुँदा आपूर्तिमा समस्या देखिएपनि विस्तारै सहज हुँदै जाने बताए ।  यसबाहेक धान र गहुँको लागि आवश्यक हुन सक्ने युरिया बङ्गलादेश सरकारसँग ५० हजार मेट्रिकटन पछि फर्काउने गरी पैंचो मागिएको समेत बताए ।

प्रधानमन्त्री स्तरबाट अनुमति पाइसकेकाले मल पैंचो ल्याउने प्रक्रिया अगाडि बढिसकेको पनि मन्त्री भुसालले बताए ।  पैंचो ल्याउने सम्बन्धमा दुई मुलुकका प्रधानमन्त्रीबिच समझादारी समेत भइसकेकाले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइएको उनले बताए ।  अवको १५ दिन भित्र बंगलादेशको मल नेपाल ल्याउने गरी काम गरिएको मन्त्री भुसालले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्