विरोधकै बीच रानीपोखरीको उत्तरी भाग पनि खन्न सुरु



सैघाली खबर
काठमाडौं, १० पुस । काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गीले रानीपोखरी पुनर्निर्माणमा जथाभावी हुन दिन्नँ भनेकै दिन यसको उत्तरी भाग खन्न थालिएको छ। कंक्रिट पर्खाल लगाउन थालेको महानगरले पूर्वी भाग खनिसकेर उत्तरतर्फ पनि सुरु गरेको संरक्षण अभियन्ता आलोक तुलाधारले  जानकारी दिए।

‘बिहान मात्र हो, उपमेयर र सांसदहरुले यो काम रोक्न पहल गर्छु भन्नुभएको। दिउँसोबाट अर्कोतिर पनि खन्न सुरु भयो,’ तुलाधरले भने।

सोमबार बिहान लिभएबल काठमाडौं र सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्सद्वारा आयोजित कार्यक्रममा उपमेयर खड्गीले कंक्रिट पर्खाल नबनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्। मेयर शाक्यले एकलौटी काम गरेको आरोप लगाउँदै उनले आफूलाई रानीपोखरी पुनर्निर्माण सम्बन्धी छलफलमा भाग लिने अवसर नदिए पनि यो कदम रोक्न पहल गर्ने बताएकी थिइन्।

‘मलाई यसबारे मेयरले कुनै जानकारी नै दिनुभएन। पुनर्निर्माण छलफलमा सहभागी हुने अवसर पनि पाइनँ। उहाँले एक्लै काम गर्नुभयो,’ उनले भनिन्, ‘मलाई यी सबै कुरा थाहा भएको भए म पहिले नै रोक्थेँ।’

उपमेयर खड्गीले भने अब आफैं रानीपोखरी अबलोकनमा जाने र त्यहाँको अवस्था हेरेर आगामी कदम चाल्ने जानकारी दिइन्। ‘म भोलि नै विभागीय प्रमुख उत्तर कुमार रेग्मीसँग कुराकानी गरेर अवलोकनमा जान्छु। कंक्रिट प्रयोग रोक्न पहल गर्छु,’ खड्गीले  भनिन्।

सोमबार बिहानको कार्यक्रममा काठमाडौंका सांसदहरूले पनि रानीपोखरी महानगरपालिकाको निर्णयप्रति आपत्ति जनाएका थिए। कांग्रेसबाट काठमाडौंबाट प्रतिनिधिसभामा निर्वाचित सांसदद्वय भीमसेनदास प्रधान र गगन थापाले रानीपोखरीमा कंक्रिट राख्ने निर्णय सम्पदा मास्ने नियत भएको बताए। सांसदद्वयले महानगरपालिकालाई जथाभावी काम गर्ने अधिकार नभएको भन्दै यो तत्काल रोक्न लागि पर्ने पनि बताएका हुन्।

सरोकारवाला र स्थानीयको चौतर्फी विरोध भइरहँदा पनि महानगरले काम रोक्नुको साटो अगाडि बढाएको छ। ‘सांसददेखि उपमेयरसम्मले रोक्न पहल गर्छु भनेकै दिनबाट अर्कोतर्फबाट काम अगाडि बढेको छ,’ तुलाधरले भने, ‘रोक भन्दा भन्दै एकापट्टिको काम सकिसके। के अब रानीपोखरी स्विमिङ पुल बनेपछि मात्र बन्न रोकिने होरु’

महानगरले १० करोड लागतमा रानीपोखरी पुनर्निर्माण गर्ने योजना बनाएको छ। कंक्रिट पर्खालबाहेक महानगरको योजनामा यहाँ कफी पसल, बगैँचा र ‘म्यूजिकल वाटर फाउन्टेन’ बनाइनेछ।

३५० वर्ष पुरानो रानीपोखरी पुनर्निर्माण पुरानै शैलीमा हुनुपर्ने सम्पदा र वास्तुविद्हरुको भनाइ छ। महानगरपालिका मेयर भने आधुनिकतातर्फ उन्मुख हुनपर्ने भन्दै सरोकारवालाको भनाइ वेवास्ता गर्दै आएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्