कोरोना जितेसँगै चीनको अर्थतन्त्रमा सुधार आउन थाल्यो



बेइजिङ । कोरोनाभाइरसका कारण केही समय शिथिल देखिएको चीनको अर्थतन्त्रमा अहिले व्यापक सुधार आउन थालेको छ । यसै वर्षको गत सेप्टेम्बरमा चीनमा ट्रक र बस समेतका सवारी साधनको बिक्रीमा उल्लेख्य सुधार आएको छ ।

चिनियाँ अटोमोबाइल उत्पादक संघका अनुसार गत अगष्ट महिनाको तुलनामा सेप्टेम्बर महिनामा १७.४ प्रतिशतले वृद्धि भएको छ अर्थात अघिल्लो वर्षको भन्दा झण्डै २६ लाख सवारी साधन बढी बिक्री भएका छन् ।

अगष्टमा ११.६ प्रतिशतले सवारी साधनको बिक्री बढेको थियो । यस वर्षको पहिलो नौ महिनामा अघिल्लो वर्षको तुलनामा ६.९ प्रतिशतले सवारी साधनको बिक्री घटेको थियो । चीनमा कोरोनाभाइरसका कारण कलकारखाना बन्द गर्नुअघि नै सवारी साधनको बिक्रीमा गत वर्षदेखि नै कमी आउन थालेको थियो ।

चीनका खस्किँदो आर्थिक वृद्धि र अमेरिकासँगको व्यापार युद्धले पनि यस क्षेत्रमा असर परेको चिनियाँ विश्लेषकहरुले बताएका छन् । गत वर्ष पनि सवारी साधनको बिक्रीमा ९.६ प्रतिशतले कमी आएको थियो । सवारी साधनको बिक्री घटेको यो लगातार दोस्रो वर्ष हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्