अहिलेकै अवस्थामा त शिवजी र ब्रम्हाजी आएपनि मल ल्याउन सक्दैनन्ः मन्त्री भूसाल



काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा हालका कृषि मन्त्री घनश्याम भूसाल माक्र्सवादका प्रखर व्याख्याता हुन् । उनले धेरै मञ्चबाट हालको व्यवस्थालाई दलाल पूँजीवादी व्यवस्था भनेका छन् । भन्ने मात्र होइन उनले यो व्यवस्थाबाट देशलाई आत्मनिर्भर बनाउन सकिन्न र जनताको जीवनस्तर माथी उठाउन सकिन्न भने ठोकुवाका साथ बोलेका छन् ।

तर उनी यही व्यवस्थामै कृषि मन्त्री छन् र भनेजस्तो काम पनि गर्न सकेका छैनन् । दालालहरुले आफूलाई भनेजस्तो काम गर्न नदिएको पनि उनी जोडतोडका साथ भन्छन् । यसैबीच उनले आज भुसालले विगतका सरकारका असफलता र अक्षमताका कारण आफूले गालि खानु परेको बताएका छन् ।

४०औं विश्व खाद्य दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भूसालले आफू आलोचनाहरुबाट बिचलित नभई कृषिको विकासका लागि निर्विकल्प अघि बढ्ने बताए । ‘इतिहासका असफलता र असक्षमताका कारण वर्तमानले गाली खानु परिरहेको छ, तर गालीबाट विचलित नभइ अघि बढ्नुको विकल्प छैन,’ मन्त्री भूसालले भने ।

रासायनिक मल आयातको वर्तमान प्रणाली गतिलो र पारदर्शी नभएको मन्त्री भूसालको भनाइ थियो । मल वितरणका अपारदर्शी कार्यहरु बन्द गरिएको र अब पारदर्शी ढंगबाट मल वितरण गरिने उनको दाबी थियो ।

कलकात्ताबाट दैनिक नेपालका लागि आउने रेल नचले अहिलेकै अवस्थामा शिवजी र ब्रम्हाजी आएपनि तुरुन्तै पाँच लाख मेट्रिकटन मल ल्याउन नसकिने उनको भनाइ थियो । मन्त्री भएर आएपछि विभिन्न क्षेत्रका व्यक्तिहरुसँग राय सुझावका लागि ८ सयभन्दा बढीसँग भेट गरेको स्मरण गर्दै मन्त्री भूसालले अधिकांश कृषि विज्ञको सोचाइ असाध्यै प्राविधिक भएको बताए । ‘माटो विज्ञ माटोमा मात्रै केन्द्रित भएको छ ।

किट विज्ञ त्यसैभित्र हराएका छन्, यसरी कृषि क्षेत्रको विकास हुनसक्दैन, कृषि क्षेत्रको विकासका लागि समग्र कृषिको नेता हुने गरी सोच्नुपर्छ,’ मन्त्री भूसालले भने ।

कृृषि क्षेत्रको विकासका लागि कम्तिमा पनि हरेक वडामा एकजना कृषि प्राविधिकको व्यवस्था अनिवार्य शर्त भएको मन्त्री भूसालले बताए । उत्पादनमा मात्र जोड नदिई वितरणमा समेत उत्तिकै जोड दिए उत्पादन भएको खाद्यान्न समान रूपमा वितरण हुन उनको धारणा थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्