चिनले भन्योः नेपाली भूमी मिचेका छैनौं

उनले भनेका छन्, ‘सो भवन पूर्णरुपमा चीनको भू–भागभित्र पर्छ र सबैभन्दा नजिकको भवन चीन–नेपाल सीमाभन्दा एक किलोमिटर टाढा रहेको छ ।’


काठमाडौं । चिनले नेपालको हुम्लामा नेपाली भूमि नमिचेको बताएको छ । उसले हालै निर्माण गरेका भवनहरु चिनियाँ भूमिभित्रै रहेको दाबी पनि गरेको छ । चिनियाँ अधिकारीहरुले हालै मात्र यो दाबी गरेका हुन् । हालै निर्माण भएको नयाँ गाउँ चीनको अलिको बुराङ भन्ने स्थानमा पर्ने उनीहरुले बताएका छन् ।

चिनियाँ सरकारको मुखपत्र दि ग्लोबल टाइम्ससँग बुराङका विदेशी मामिला निर्देशक बकीले मे महिनामा ती भवनहरु निर्माण गर्नुभन्दा पहिला सेना र सर्वेका अधिकारीहरुले सो भवन निर्माण चिनियाँ भू–भागभित्र नै बनोस् भनी विस्तृत सर्वे र म्यापिङ गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘सो भवन पूर्णरुपमा चीनको भू–भागभित्र पर्छ र सबैभन्दा नजिकको भवन चीन–नेपाल सीमाभन्दा एक किलोमिटर टाढा रहेको छ ।’ उनले नयाँ गाउँ निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेकोसमेत जानकारी दिएका छन् ।

नेपालमा चीनले सीमा मिचेको विषय उठेपछि चिनियाँ अधिकारीहरुले दोस्रोपटक फिल्ड सर्वे र मापनको काम गरेका थिए । सो टोलीले भवन चीनको बुराङ गाउँमा नै पर्ने निष्कर्ष निकालेको थियो ।

चिनियाँ सरकारी अधिकारीहरुले सो गाउँ व्यापार बढाउन बनाइरहेको र निर्माण गर्ने समयमा नेपाली अधिकारीहरुसँग कुनै पनि विवाद नभएको उल्लेख गरेका छन् । चिनियाँ अधिकारीले पिल्लर नं ११ र १२ एकदमै उच्च भागमा रहेको र सर्वेको ज्ञान नभएका व्यक्तिले अध्ययन गर्न कठिन हुनेसमेत उल्लेख गरेका छन् ।

चिनियाँ अधिकारीले नेपाली सर्वे टिमले केही गल्ती गरेको हुनसक्ने सो पत्रिकालाई बताएका छन् । यसअघि नेपालको परराष्ट्र मन्त्रालय र चीनका लागि नेपाली राजदूत डा. महेन्द्रबहादुर पाण्डेले पनि चीनले नेपालको भू–भाग नमिचेको बताएका छन् । तर प्रमुख प्रतिपक्षी कांग्रेसले भने चीनले नेपाली भू–भाग मिचेको दाबी गर्दै सरकारले झूट बोलेको आरोप लगाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्