बालबालिकालाई असल संस्कार दिनु अभिभावकको जिम्मेवारी हो – सांसद चौधरी



भालुवाङ ३ कार्तिक । प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले बालबालिकालाई असल संस्कार दिनु अभिभावकको जिम्मेवारी रहेको बताएका छन् । साधारण माध्यमिक विद्यालय सालभौरीको अभिभावक भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि समेत रहेका सांसद चौधरीले सामुदायिक विद्यालयलाई नमुना बनाउने जिम्मेवारी सबैको रहेको बताएका छन् । त्यस्तै लुम्बिनी प्रदेशका सांसद रेवतीरमण शर्माले प्रदेश सरकारले विकास नपुगेको, ठगिएको बस्ती, गरिब दुःखीलाई लक्षित गरेर योजना निर्माण गरेको र सोही अनुसार आफ्ना कार्यक्रम केन्द्रित गरेको बताएका छन् ।

सांसद शर्माले विकासबाट पछाडी परेको क्षेत्रमा सन्तुलीत विकासको अवधारणा अनुसार नाका क्षेत्रमा सडक पु¥याउन हरेक बर्ष बजेट विनियोजन गरिरहेको बताए । यस्तै नाका क्षेत्र, पिछडीएको ठाउँमा विद्यालयको भौतीक पूर्वाधर सुधार गर्न बजेट तथा कार्यक्रमले प्राथमिकता पाएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदयराज चौधरीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेशका सदस्य रेवतीरमण शर्माको बिशिष्ट आतिथ्यतामा अभिभावक भेला सम्पन्न भएको हो ।

साधारण नमुना माध्यमिक विद्यालयमा राजपुरमा पहिलोपटक प्राविधिकधारको बिषयको पठनपाठन सञ्चालन गर्दै आएको छ । अब यो विद्यालयमा डिग्री सम्मको पढाइ सञ्चालन गर्ने लक्ष्य राखिएको छ । प्राविधिक धार सञ्चालन भएको यो विद्यालय पहिलो हो । २०१२ सालबाट अनौपचारिक रुपमा विद्यालय सञ्चालन गरेर शिक्षा प्रदान गरेको इतिहास छ । २०६६ साल बाट प्लस टु सञ्चालन भएको हो । ६० विद्यार्थीबाट प्लस टु सञ्चालन भएको थियो । गत फागुन महिनामा विद्यालय व्यवस्थापन समितिको म्याद गुज्रिएको थियो । विद्यालयको ९५ बिगाह जमिन छ । तर, यो जमिन किसानले खनजोत गर्दै आएका छन । राजपुर गाउँपालिकामा ३२ विद्यालय छन । जस मध्य प्राथमिक विद्यालय २२ ओटा, आधारभुत विद्यालय २ र माध्यमिक विद्यालय ८ ओटा छन ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज कालाथोकीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टि (नेकपा) राजपुर गाउँपालिका अध्यक्ष चक्रबहादुर खड्का(शिखर), वडा नम्बर ६ का अध्यक्ष श्यामबहादुर रोका, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भोगेन्द्र सिंह राजपुत, पूर्व अध्यक्ष बिन्तिराम यादव, राष्ट्रिय जनमोर्चा महेश रिजाल, राप्रपा लिला यादव लगायतले मन्तब्य ब्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य घनश्याम चौधरीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक गोकुल भट्टले गर्नु भएको थियो । अभिभावक भेलाले घनश्याम चौधरीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्