भालुवाङ र सिसहनियाँ बजार अनुगमन, ५० प्रतिशत बढी व्यापारीको पसल गाउँपालिकामा दर्ता छैन



ओमप्रकाश गुप्ता, भालुवाङ ५ कार्तिक । दाङको राप्ती गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका बजारहरुको अनुगमन गर्न सुरु गरेको छ । दशैं तिहार जस्ता महत्वपुर्ण चाडपर्वका समयमा हुन सक्ने कालो बजारी तथा कृत्रिम अभाव र कोरोना महामारीका बेला अपनाइने स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको बिषयमा अनुगमन गर्न सुरु गरेको हो ।

यसै क्रममा बुधवार बिहान देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङ बजार र वडा नम्बर ५ को सिसहनियाँ बजार क्षेत्रमा अनुगमन गरिएको छ । ती बजार क्षेत्रमा रहेका खाद्यान्न तथा किराना पसल, मेडिकल, होटल, कस्मेटिक तथा व्युटीपार्लर, डेरी, मासु पसल, एग्रोभेट, तरकारी तथा फलफूल पसल गरि ५६ वटा भन्दा बढी पसलहरुको अनुगमन गरिएको छ ।

जसमा पुरानो भालुवाङ बजार र पुल्चोक बजार क्षेत्रमा ९ वटा किराना तथा खाद्यन्न पसल, १ वटा तरकारी पसल, ६ वटा होटल, १ वटा कस्मेटिक पसल, १ वटा डेरी, ३ वटा मेडिकल, २ वटा एग्रोभेट र २ वटा मासु पसल गरी २५ वटा पसल तथा व्यवसायीहरुको अनुगमन गरिएको बजार अनुगमन समिति भालुवाङका संयोजक नारायण राउतले जानकारी दिएका छन् । उता सिसहनियाँ बजार क्षेत्रमा ७ वटा किराना तथा खाद्यन्न पसल, १ वटा तरकारी पसल, ६ वटा होटल, २ वटा कस्मेटिक पसल, २ वटा डेरी, २ वटा मेडिकल, १ वटा एग्रोभेट, २ वटा मासु पसल, १ वटा हार्डवेयर, ५ वटा कपडा पसल, १ वटा साइकल पसल, १ वटा कोल्ड तथा फ्रुट पसल गरी ३१ वटा पसल तथा व्यवसायीहरुको अनुगमन गरिएको बजार अनुगमन समिति सिसहनियाँका संयोजक महेश अधिकारीले जानकारी दिएका छन् ।

अनुगमनका क्रममा अधिकाशं किराना तथा खाद्य पसलमा मूल्य सुची नराखेको, केही व्यापारीहरुले सामाजिक दुरी कायम नगरेको तथा पसल सञ्चालकले मास्क प्रयोग नगरेको, सावुनपानीले हात धुने व्यवस्था नमिलाएको, दुवै बजार क्षेत्रका ५० प्रतिशत भन्दा बढी व्यापारी तथा व्यवसायीले गाउँपालिकामा फर्म दर्ता तथा नविकरण नगरेको, केहि पसलमा म्याद गुज्रेको समान फेला परेको, केहि होटलहरुमा सरसफाईको कमी रहेको पाइएको अनुगमन समितिका संयोजक अधिकारी र राउतले जानकारी दिएका छन् ।

भालुवाङ क्षेत्रमा गरिएको बजार अनुगमनमा नारायण राउतको अगुवाईमा गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, प्रशासन प्रमुख विकास ज्ञवाली, सुचना प्रविधि अधिकृत बालचन्द्र गुरुङ, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी सहायक खड्कबहादुर खत्री, भालुवाङ होटल व्यवसयी समितिका अध्यक्ष महेश बेल्वासे, वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत, ६ का अध्यक्ष वेदप्रसाद चौधरी, पशु प्राविधिक शेरबहादुर हमाल रिजाल र पत्रकार महेश रिजाल लगायतको उपस्थिति रहेको थियो ।

भने सिसहनियाँ क्षेत्रमा गरिएको बजार अनुगमनमा महेश अधिकारीको अगुवाईमा सुवास भट्टराई, वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, प्रगतिनगर शहरी खानेपानी तथा सरसmाई उपभोक्ता समिति प्रगतिनगर सिसहनियाँका अध्यक्ष शान्तराज भण्डारी, सिसहनियाँ एदोग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारी, महासचिव ईश्वरीप्रसाद अधिकारी, सचिव मदन पाेख्रेल, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरिक्षक भुवन भट्ट, प्रहरी चौकी सिसहनियाँका प्रमुख प्रहरी नायव निरिक्षक बत्तिकुमार पोख्रेल, पत्रकार ओमप्रकाश गुप्ता, गाउँपालिका कार्यालय सहयोगी झविलाल सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

अनुगमनको सुपरिवेक्षकमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल रहेका छन् । यसै बिच भोली विहिवार पाखापानी, लालमटिया, मौरीघाट, पिपरी, पत्थरगढवा लगायत बजार क्षेत्रको अनुगमन गरिने गाउँपालिकाले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्