मन्त्री बर्खास्त गर्ने निर्देशन पछि फुट्ला कि बच्ला नेकपा ?

समाचार विश्लेषण


पार्टी एकतादेखि नै मारामारको भूमरी झेल्दै आएको सत्तारुढ नेकपाकाबीचमा पछिल्लोचरणमा निकै नै पेचिलो राजनीति चलिरहेको छ । सो पार्टीका नेता तथा कार्यकर्ताहरुमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा भइरहेका घोंचपेच र जुहारीकाबीच आज नै सो पार्टीका दोश्रो अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका मुख्यमनत्री महेन्द्र शाहीलाई शाही विरुद्धको अविश्वासको प्रश्तावमा भएको मतदानमा मतदान नगर्ने २ मन्त्रीलाई बर्खास्त गर्न दिएको निर्देशनले नेपालको राजनीति निकै तातेको छ ।

दाहालको निर्देशन अनुसार आज भोलि नै वा दशैँलगत्तै दुई मन्त्री बर्खास्त गर्ने जानकारी मुख्यमन्त्री शाही आफू निकटलाई दिएका छन् । केही दिनअघि मात्र यो विवाद मिलाउन भन्दै कर्णाली प्रदेशका नेताहरुलाई काठमाडौं बोलाइएको थियो । मतदानबाट फैसला गर्ने भन्दै फर्किएका नेताहरुबीच आएको मतदानमा मुख्यमन्त्री शाहीले पाएको मतले उनको मुख्यमन्त्री पद जोगिएपनि उनलाई मतदान नगर्ने मन्त्रीहरुलाई बर्खास्त गर्न पार्टी अध्यक्ष दाहालले दिएको निर्देशनले फेरि अर्कोरुप लिने संकेत देखिएको छ ।

आफ्नै मुख्यमन्त्रीको विरुद्धमा आएको अविश्वासको प्रस्तावमा मतदान नगर्ने मन्त्रीलाई सो मन्त्रिपरिषदमा बस्ने नैतिक अधिकार समाप्त भएको छ । कर्णाली प्रदेशमा प्रधानमन्त्री ओली निकट दलबहादुर रावल र नन्दसिंह बुढा मन्त्री छन् । उनीहरुलाई तत्काल हटाउन मुख्यमन्त्री शाहीलाई अध्यक्ष दाहालले निर्देशन दिएका हुन् ।

‘ओलीलाई ढालियो, अध्यक्ष कमरेड निकै खुसी हुनुभएको छ, उहाँले अब ओलीपक्षका दुवैजना मन्त्री बर्खास्त गर्न भन्नुभएको छ,’ पार्टी विभाजनका लागि आधार तयार पार्न आज आयोजना गरिएको कर्णाली प्रदेश सभा संसदीय दलको बैठकमा बहुमत पुगेपछि मुख्यमन्त्री शाहीको भनाई उदृढ गर्दै एक सांसदले भने । ती सांसदका अनुसार मुख्यमन्त्री शाहीले अध्यक्ष प्रचण्डकै निर्देशन अनुसार आफूविरुद्ध हस्ताक्षर नगरे पनि अध्यक्ष ओली निकट रहेको कारण प्रमुख सचेतक गुलावजंग शाहलाई बर्खास्त गरि पूर्वमाओवादीलाई ल्याइएको हो ।

‘सिएम कमरेडले ओलीलाई ढालेकोमा बधाइ दिनुभएको छ, अब मन्त्री बर्खास्त गरि निषेध गरिन्छ,’ मुख्यमन्त्री शाहीको भनाई उदृढ गर्दै ती सांसदले भने । उनका अनुसार मुख्यमन्त्री शाहीले ‘दाहालको योजनामा कर्णालीमा ओली ढालियो’ भन्दै अब माधव नेपाललाई पूर्वमाओवादी शिविरमा शरणार्थी बनाउने र त्यो कामका लागि जाजरकोटका निरज आचार्यको साथ लिने निश्कर्ष सुनाउनु भएको छ ।

मुख्यमन्त्री शाहीले आफू निकट सात सांसदलाई सुनाए अनुसार तात्कालिन एमालेमा वरिष्ठ नेता नेपाल निकट रहेका केन्द्रीय सदस्य आचार्य तीन महिना अगावै दाहालको शिविरमा पुगिसकेका छन् । आचार्यले बाहिर नेपाल भन्ने, काम चाँही दाहालको इसारा अनुसार गर्ने भन्दै आफूहरुको भित्रियाको रुपमा मुख्यमन्त्री शाहीले चित्रित गरेको ती सांसदले सुनाए । त्यसो त सुर्खेतमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर गराउने मुख्य भूमिका खेलेका आचार्य अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै दाहालकै दुत बनेर सुर्खेत पुगेको खुलासा स्वयम् दाहालले गरिसकेका छन् ।

‘निरज आचार्यलाई माधवजीले होइन, मैले नै सुर्खेत पठाएको हुँ,’ मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि आफ्नै निवासमा छलफलमा बोलाएर यमलाल कँडेल र गुवालजंग शाहसँग अध्यक्ष दाहालले भनेका थिए । शाहीको यो भनाईसँगै कर्णालीमा अध्यक्ष दाहालले नै पूर्वएमाले भिडाएर पूर्वमाओवादीको शक्ति सुदृढ गर्ने, आफूहरुको आदेश नमान्ने पूर्वमाओवादीलाई समाप्त पार्ने र थप शक्ति आर्जन गरी नेकपा कब्जा गर्ने, त्यसो हुन नसके पार्टी नै फोड्ने योजना बनाएको घटनाक्रमले देखाएको छ ।

आजको दाहालको निर्देशन अनुसार काम गरेभने मुख्यमन्त्री शाहीले ती २ मन्त्रिलाई हटाएभने आउने अर्को परिस्थितको भने आजै आंकलन गर्न सकिने अवस्था छैन । यदि त्यो भइहाल्यो भने सो पार्टी फुटको संघारमा जाने निश्चित जस्तै भएको छ । किनकि सो पार्टीमा यस्तो लडाइँको अवस्था धेरैअघि देखि नै देखिएको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्