३२६ व्यापारीलाई धनकुटाका घरधनीले दिए घर भाडा छुट



धनकुटा । धनकुटामा लकडाउनयता संकटमा परेका ३२६ व्यापारीलाई घरधनीले घरभाडा छुट गरिदिएका छन् । कोरोना महामारी र त्यसपछि सरकारले घोषणा गरेको लकडाउनको कारण व्यापार व्यवसाय बन्द भई व्यवसायी संकटमा परेका थिए । तर, धनकुटाका मनकारी घरधनीले व्यापारी तथा व्यवसायीको व्यापार नभएको समय गणना गरी घरभाडा छुट गरिदिएका हुन् ।

समस्यामा परेका व्यवसायीहरु पलायन हुने अवस्था नहोस् भनेर धनकुटा उद्योग वाणिज्य संघले घरधनीहरुसँग छलफल गरी घरभाडा छुट गर्न समन्वय गरेको हो । संघका अध्यक्ष विजयसन्तोषी राईले लकडाउनले संकटमा परेका व्यापारी व्यवसायीलाई व्यापारमा भएको र घाटाबीच थप आर्थिक भार नहोस् भनेर समन्वय गरिएको बताए ।

उनले भने, “हामीले घरधनीहरुलाई समन्वय गरी अहिलेसम्म ३२६ जना व्यवसायीलाई घरभाडा छुट गराएका छौं । छुट दिने घरधनीलाई संघका तर्फबाट सम्मान पनि गर्दै आएका छौं ।” अध्यक्ष राईले कोरोना महामारीका कारण बजार खुले पनि अझै व्यापारले लय लिन नसकेको सुनाए । संघले धनकुटा नगरपालिका ५ की समाजसेवी तथा अभियन्ता रेणु श्रेष्ठले आफ्नो दुईवटा घर भाडामा लगाएकोमा भाडा छुट गरिदिएकी छन् ।

उनलाई धनकुटा उद्योग वाणिज्य संघले सम्मान गरेको छ । पछिल्लोपटक श्रेष्ठले धनकुटा नगरपालिका वडा ५ माथिल्लो कोप्चेमा अवस्थित दुईवटा घरमा एक–एक महिनाको बहाल छुट गरिदिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष राईले बताए । धनकुटाको व्यस्त हिले बजारका व्यवसायीलाई पनि भाडा छुट गराउन संघले पहल लिएको र हालसम्म ८४ जना घरधनीले घरभाडा छुट गरेको संघका महासचिव रामबहादुर गोङ्वा तामाङले जानकारी दिए । पर्यटकीय तथा व्यापारिक बजार हिलेमा कोरोना संकटका कारण व्यापार व्यवसाय प्रभावित बन्दै गएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्