गढवामा सामुहिक खेती तर्फ सहकारीको आकर्षण



शिबराज पन्थी, गढवा १३ कार्तिक । गढवा ६ का माधव पण्डित पेशाले शिक्षक हुन् । आफु आवद्ध भएको पौष्टिक कृषि सहकारी संस्थाले सामुहिक आलु खेती गर्ने भएपछि उनलाई निकै जाँगर पलाएको छ । उनी जस्तै गढवा ६ बालापुरका खिमप्रसाद घिमिरे पनि शिक्षण पेशा गर्छन् । आफ्नै सहकारी संस्था शेयर सदस्यहरुले सामुहिक तरकारी खेती गर्ने निर्णय गरेपछि साँझ बिहानको खाली समयमा आलु रोप्न भ्याइ नभ्याई भएको उनले बताए । एका बिहानै पण्डित र घिमिरे लगायत पौष्टिक कृषि सहकारी संस्थाका सबै शेयर सदस्यहरु निकै जाँगरका साथ आजकल सामुहिक आलु खेतीमा आकर्षित भएका छन् ।

सहकारीमा आवद्ध थारु, पहाडी, यादव सबै समुदायको सामुहिक खेतीमा आकर्षण बढेको पाइएको छ । सबैका हात हातमा कोदाला र फरुवाहरु छन् । कोखिमा आलुको बिऊ र मलखाद बोकेका छन् । के महिला, के पुरुष बिहीवार एका बिहानै खेतमा रसि टाँगेर लाइनवद्ध भएका पौष्टिक कृषि सहकारी संस्थाका ५५ जना शेयर सदस्यहरु आलु रोप्ने आकर्षणमा रमाएका देखिन्थे । प्रत्येक घरबाट अनिवार्य खेती गर्न आउनुपर्ने नियम रहेकोले पनि झण्डै एक बिगाहको मैदानमा हात हातमा कोदाली,फरुवा र आलुको बिऊ बोकेर महिला र पुरुषहरु ताँत लागेका थिए ।

गढवा स्थित पौष्टिक कृषि सहकारी संस्थाका सबै शेयर सदस्यहरु सामुहिक खेतीको आकर्षणमा रहेको अध्यक्ष हुमाकान्त सुवेदीले बताए । पहिलो पुस्ताको टिपिएस आलुको बिऊ नपाएपछि दोश्रो पुस्ताको बिऊ रोपेको अध्यक्ष सुवेदीले बताए । झण्डै एक बिगाहको क्षेत्रफलमा लिजमा लिएर यसपाली आलु रोपिएको र आलु भित्राएपछि प्याज रोप्ने तयारी भै रहेको संस्थाका सचिव खुमानन्द पोखे्रलले बताए ।

यसअघि यो सहकारी संस्थाले प्रधानमन्त्री कृषि आधुनिकीकरण मकै सुपरजोनबाट सिचाई बोरिङ अनुदान पाएको र सोहि बोरीङबाट सिंचाई हुनेगरि आलुखेति गर्न थालिएको सहकारीले जनाएको छ । गढवा गाउँपालिकाका केहि वडाहरुमा गाउँपालिका र कृषि सामाग्री संस्थान संगको सहकार्यमा किसानहरुलाई यो सहकारी संस्थाले मलखाद उपलब्ध गराउदै आएको संस्थाका अध्यक्ष हुमाकान्त सुवेदीले बताए ।

मलखादका लागि अहिले पनि गाउँपालिकासंग समन्वय गरिरहेका छौ–उनले भने । खेतीपातीको सिजनमा सधै मलखादको अभाव हुने भएकोले स्थानीय सरकारसंग समन्वय गरेर मलखादको सहज आपुर्तिको वातावरण मिलाउने योजनाका साथ आफूहरु अगाडी बढेको सुवेदीले बताए । हाल संचालन गरिरहेको आलुखेतिमा भने कतैबाट अनुदान तथा प्रोत्साहन नपाएको उनको भनाई छ । सामुहिक खेतिको अभ्यास सुरु गरेका छौं सरकारका निकायहरुबाट अबश्य सहयोग मिल्ने छ–अध्यक्ष सुवेदीले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्