ओली झुकाउन ५ भाईको भव्य तयारी

ओलीसँग भने ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा मात्रै छन् ।


काठमाडौं । सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीलाई झुकाउने रणनीति तय गर्न खुमलटारमा पाँचभाईको छुट्टै भेला भएको छ । सचिवालय बैठक शुक्रबार अपरान्ह चार बजे बस्ने भएपछि उनीहरुले बेग्लै रणनीति तय गर्न खुमलटार जम्मा भएका हुन् ।

शुक्रबारको बैठकमा एकमतका साथ जानका लागि बिहीबार साँझ खुमलटारमा अध्यक्ष प्रचण्डसहित पाँच नेताको छलफल भएको छ । खुमलटार छलफलमा अध्यक्ष प्रचण्डले ओलीबाट भएका कमजोरीको विषयलाई दस्तावेज बनाई बैठकमा पेश गर्ने बताएका छन् ।

‘पार्टी एकता भएपछि ओलीजीले मलाई अपमान गर्न के के गर्नु भयो, पार्टीको विधान कसरी उल्लंघन गर्नुभयो त्यसको सबै हिसाब किताब राखेको छु साथै छुट्टै दस्तावेजको रुपमा पेश गर्नेछु’, प्रचण्डको भनाई उधृत गर्दै स्रोतले भन्यो । तर अन्य सदस्यहरुले दस्तावेज नै बनाईसक्नु भयो ? भन्दै प्रश्न गरेका थिए ।

बिहीबार अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको बहुमत सचिवालय सदस्यबीचको छलफलले सचिवालय बैठकमा एकमतका साथ प्रस्तुत हुने रणनीति बनाएको स्रोतको भनाइ छ । बैठकलाई लिएर खुमलटारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको खुमलटार स्रोतले भन्यो । तर बिहीबारको बैठकमा वामदेव गौतम अन्तिम अन्तिममा पुगेका थिए ।

नेकपामा शक्तिशाली निकायको रुपमा रहेको ९ सदस्यीय सचिवालयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अल्पमतमा छन् । प्रचण्ड र माधव कुमार नेपाल पक्षसँग ५ सदस्य बहुमत छ । गौतम, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ समेत गरी उनीहरूको बहुमत पुग्छ ।  ओलीसँग भने ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा मात्रै छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्