खोटाङमा फर्निचर उद्योग आगलागी हुँदा ५० लाख बढीको क्षति



३१ चैत काठमाडौं ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । बिहान करीब ४ः३० बजेको समयमा शुरु भएको आगोले उद्योगमा रहेको मेसेनरी औजार, तयारी फर्निचर, काठपातलगायत सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय हर्कराज राईले सञ्चालन गर्नुभएको फर्निचर उद्योगमा विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए।

उद्योगमा भएको आगो नियन्त्रणमा लिइए पनि कुनै सामग्री सुरक्षित गर्न नसकिएको प्रहरीले जनाएको छ । उद्योग सञ्चालक राईका अनुसार भण्डारण गृह र बिक्री कक्षमा राखिएका बाहेक सबै उत्पादित सामग्रीसमेत जलेर नष्ट भएको छ । दश स्थानीय तह रहेको जिल्लामा चैत महिनामा मात्रै दुई दर्जन बढी घर तथा गोठमा आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्लाका कतिपय सामुदायिक वनमा अझै आगलागी भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । कतिपय ठाउँका स्थानीय बासिन्दाले आफ्नो नजिक पर्ने वनमा आफैँ आगो लगाउने गरेको स्रोतले जनाएको छ । घर तथा गोठमा भएको आगलागीमा नगद, सुनचाँदी, पशुचौपाया, अन्नपात, लत्ताकपडा, काठपातलगायत जल्दा करोडौँको क्षति भएको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिए। जिल्लामा भएका आगलागीका घटनाको यकिन विवरण अझै आउन बाँकी रहेको जनाइएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्