कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै



काठमाडौं। आजदेखि कर्णाली प्रदेशसभाको सातौं अधिवेशन सुरु हुँदैछ। आज बस्ने बैठकका लागि छ वटा कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ। बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त संसद आव्हान सम्वन्धीको पत्र पढेर सुनाइने छ ।

त्यसपछि मन्त्रालयहरुको जिम्मेवारी हेरफेरको पत्र प्रस्तुत गरिने छ। तत्कालीन एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएपछि मुख्यमन्त्री महेन्द्र शाहीले ती मन्त्रालयहरुको जिम्मेवारी हेरफेर गरेका छन्।

बैठकमा तेस्रो कार्यसूचीमा धर्मराज रेग्मीको पद खाली भएको जानकारी गराइने उल्लेख गरिएको छ। तत्कालीन माओवादी केन्द्रबाट दैलेख क्षेत्र नं. १ ‘क’बाट निर्वाचित सांसद रेग्मी एमालेमा प्रवेश गरेपछि सम्वन्धित दलले कारबाही गरेको छ। चौथो कार्यसूचीमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका एक–एक जना माननीयहरुले बोल्ने कार्यक्रम छ।

संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरुले बोलेपछि एक घण्टाका लागि संसद बैठक स्थगित हुनेछ। त्यसपछि मुख्यमन्त्री शाहीले प्रदेश लोकसेवा आयोग सम्वन्धिको संशोधन र प्रशासनिक कार्यविधि संशोधन सम्वन्धीका विधेयक प्रस्तुत गर्नेछन्।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन्। सातौँ अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन्।

दिउँसो २ बजे बस्ने प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पहिलो बैठकमा सरकारले दुईवटा अध्यादेश टेबल गर्ने र विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ। गत चैत ५ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानूनी बाध्यताका कारण आज विश्वासको मत लिन लागेका हुन्।

माओवादीको हिजो बसेको संसदीय दलको बैठकले प्रदेशसभामा विश्वासको मत लिने र यसका लागि सबै दलहरुलाई विश्वासको मत दिन अपिल गर्ने निर्णय गरेको थियो। ३९ जना सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २० जनाको समर्थन चाहिन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्