मुख्यमन्त्री शाहीलाई बहुमतमा कति मत आवश्यक ?



काठमाडौं । कर्णाली प्रदेशसभा बैठक आज बस्दैछ। आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री शाहीले विश्वासको मत लिन अघि प्रदेशसभा बैठकमा २ वटा अध्यादेश पेश गर्ने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश सभा सचिवालयका सुचना अधिकारी उपेन्द्रकुमार गुरुङले बैठकमा २ वटा अध्यादेश पेश गर्ने र सभामुखले प्रदेशसभा सदस्य धर्मराज रेग्मीको पद रिक्त भएको जानकारी गराउने बताए । त्यसपछि अर्को चरणमा मुख्यमन्त्रीले विश्वासको मत लिनेछन् । यसका लागि सत्तारुढ नेकपा माओवादीको हिजो बसेको दलको बैठकले आफ्नो पार्टीको नेतृत्वमा सरकार टिकाई रहन विश्वासको मत लिने निर्णय गरेको थियो।

सोहि अनुसार नै मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन्। ४० जना सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमत सदस्यको विश्वासको मत लिन २० जना सांसद आवश्यक पर्छ। तर माओवादीकै सांसदको संख्या भने १२ जना मात्रै छ। त्यसमध्ये १९ जना नेकपा एमाले, ६ जना कांग्रेस र १ जना राप्रपाका सांसद छन्। मुख्यमन्त्री शाहीले कांग्रेस राप्रपासहित नेकपा एमालेको असन्तुष्ट पक्षबाट विश्वासको मत पाउने आशा राखेका छन्।

माओवादीको हिजो बसेको संसदीय दलको बैठकले प्रदेशसभामा विश्वासको मत लिने र यसका लागि सबै दलहरुलाई विश्वासको मत दिन अपिल गर्ने निर्णय गरेको थियो। नेकपा माओवादी केन्द्रकी सचेतक सीता नेपालीले वर्तमान सरकारलाई विश्वासको मत दिन सार्वजनिक अपिल गरेको बताईन् । कर्णालीको समग्र विश्वासका लागि वर्तमान सरकारलाई बहुमत प्रदेशसभा सदस्यले मत दिने उनले विश्वास व्यक्त गरिन्।

उनले घुमाउरो शैलीमा एमालेको असन्तुष्ट पक्ष नेपाल समूहले पनि विश्वासको मत दिने संकेत गरिन्। तर यता नेकपा एमालेले माओवादीको यो निर्णयलाई जसरी पनि असफल बनाउने गरि निर्णय लिने जनाएको छ। नेकपा एमालेका प्रमुख सचेतक गुलावजंग शाहले यसका लागि बिहान ११ बजे दलको बैठक बोलाइएको जानकारी दिए। यता एमालेको नेपाल समूहका सांसदहरुले फ्लोर क्रस गरेर विश्वासको मत दिने अपेक्षा मुख्यमन्त्रीको छ। तर सचेतक शाह यस्तो नहुने बताउछन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्