सरकारको आदेश उल्लंघन गरी सप्तरीमा स्कुल खोल्ने ११ जना पक्राउ



वैशाख १३ , सप्तरी । सप्तरीमा सरकारको आदेश अटेर गर्दै विद्यालय खोल्ने निजी विद्यालयका ११ जना सञ्चालक/शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

कोरोना संक्रमण महामरी नियन्त्रण प्रयासस्वरूप सरकारले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न भनेको भए तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिए । उनका अनुसार पटक–पटक सम्झाउँदा पनि विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

सोमबार बिहान प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुख सहितको टोलीले अटेर गर्ने विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरु विरुद्ध कस्तो कदम चाल्ने भन्ने विषयमा आजै हुने बैठकले निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्