दाङका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी माओवादीकेन्द्रको गठबन्धनमा लागेका छन्।



लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री नबनाएपछि उनकै गृहजिल्ला दाङका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी माओवादीकेन्द्रको गठबन्धनमा लागेका छन्।

प्रदेशसभा सदस्य डाँगी सोमबार बिहानदेखि मुख्यमन्त्री पोखरेल तथा एमाले नेताहरूको सम्पर्कबाट बेपत्ता भएका छन्। डाँगी अहिले माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दाबी गर्दै अविश्वास प्रस्ताव दर्ता गर्ने कुलप्रसाद केसी ‘सोनाम’ ले नेतृत्व गरेको माओवादी–कांग्रेस ‘क्याम्प’मा पुगेको स्रोतले जनाएको छ।

प्रदेशसभा सदस्य डाँगी कांग्रेस–माओवादी गठबन्धनका नेताहरू बसिरहेको होटेलमै रहेको माओवादीका एक नेताले बिएल नेपाली सेवालाई जानकारी दिए। उनले भने, ‘अमर कमरेड असंवैधानिक ढंगले नियुक्त भएका मुख्यमन्त्रीको पक्षमा हुनुहुन्न। हामीसँगै हुनुहुन्छ। उहाँले एमालेको ओली गुट उतिबेलै छाड्नुभएको हो। उहाँ सोनाम कमरेडको समर्थनमा हुनुहुन्छ।’

यसअघि केसीलाई मुख्यमन्त्री बनाउन समर्थन जनाएको भनिएका नेकपा एमालेको ‘सूर्य’ चिन्हबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय धर्मलाल श्रीवास्ताव र अजय शाही मुख्यमन्त्री पोखरेललाई साथ दिने गरी पुनः एमालेमा फर्किएका छन्।

श्रीवास्तव र शाहीले माओवादीकेन्द्र, प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको समेत आरोप लगाएका छन्। उनीहरुलाई फर्काउन सफल भए पनि मुख्यमन्त्री पोखरेलले आफ्नै गृह जिल्ला, दाङका प्रदेशसभा सदस्य डाँगीलाई जोगाउन कठिन भएको छ। यसअघि घोराही उपमहानगरपालिकाका मेयर भइसकेका डाँगीलाई जोगाउन नसकेमा मुख्यमन्त्री पोखरेललाई ‘ग्रासरुट’ को राजनीतिमा समेत असर पर्ने छ।

प्रदेशसभा सदस्य डाँगीले माओवादीकेन्द्र–कांग्रेस गठबन्धनलाई नै सघाउने प्रतिबद्धता जनाइसकेको स्रोतको दाबी छ यद्यपि पोखरेलले मुख्यमन्त्रीमा पुनः सपथ खाइसकेपछि तत्कालका लागि त्यो चरण समाप्त भइसकेको छ। एकल बहुमतको मुख्यमन्त्रीले प्रदेशसभाबाट बहुमत सिद्ध गर्नुपर्ने संवैधानिक बाध्यता नभएकाले उनको राजीनामाले प्रदेश–सरकारमा खासै असर गर्दैन।

डाँगीले सुरुदेखि नै प्रदेश–मन्त्रीको आशा गरेका थिए तर पनि मुख्यमन्त्री पोखरेल र एमाले नेताहरूले उनलाई कुनै वास्ता गरेनन्। मुख्यमन्त्रीले पुनः सपथ खाएपछि पनि एमालेबाट मन्त्री पाउने आशा मरेपछि उनी एमालेका कार्यक्रमहरूमा सकृय थिएनन्।

एमाले नेताहरूले सोमबार दिउँसोदेखि भेट्न ताकेता गरे पनि अस्वीकार गरेका छन्। माओवादीकेन्द्र–कांग्रेस गठबन्धनबाट मन्त्री बनाउने पक्का आश्वासन पाएका डाँगी केसीको पक्षमा आएको कांग्रेसका लुम्बिनी प्रदेशका एक नेताले जानकारी दिए।

सांसद डाँगी दाङ जिल्लाको क्षेत्र नम्बर २ (ख) बाट २१४५० मत प्राप्त गरेर एमालेको तर्फबाट विजयी भएका थिए। केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी विस्तारको क्रममा डाँगीलाई मनोनित गर्दा पदमा बस्न अस्वीकार गरेका थिए।

सांसद डाँगी तत्कालिन नेकपामा प्रचण्ड–नेपाल समूहमा लागे पनि मुख्यमन्त्री पोखरेलको प्रयासमा नै ओली समूहमा फर्काइएको थियो। मुख्यमन्त्री पोखरेलले गृहजिल्ला दाङकै अर्की सांसद विमलाकुमारी खत्री वली पनि जोगाउन सकेनन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्