आगो लगाएर हत्या गरेको आरोपमा एक पक्राउ



सर्लाही । सर्लाही प्रहरीले पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याको आरोपित शिवजी साहलाई प्रहरीले पक्राउ गरेको हो ।
एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर फरार सोही वडाका अन्दाजी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेशरगञ्ज, वयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

घटनापछि फरार भएका साहलाई मलङ्गवा नगरपालिका–५ भाडसरस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साह वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा बसेर फर्किएका थिए । उनी फर्किएको २४ घण्टा नबित्दै उक्त घटना घटेको स्थानियवासीले बताएका छन् ।

साहलाई घारीबथानका ५८ वर्षीय शियाशरण रायलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोप छ । यही वैशाख २० गते घरअगाडिको आँपको बगैँचामा बसिरहेका रायको शरीरमा साहले पेट्रोल छर्की आगो लगाएर फरार भएको प्रहरीले जनाएको छ ।
शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका रायलाई हेलिकप्टरमार्फत काठमाडौँको कीर्तिपुर अस्पताल लगेर उपचार गराउने क्रममा रायको वैशाख २१ गते मृत्यु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्