कर्णाली प्रदेशमा मुख्यन्त्री शाहीले बुधबार नियुक्त गरेका तीन मन्त्री सपथ नखाँदै बर्खास्तमा



मुख्यमन्त्री शाहीले बुधबार नै आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्टलाई मन्त्री पदको सपथग्रहण गराउन खोजेका थिए तर मन्त्री पदमा सांसद एवम नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक सीता नेपालीलाई पनि मन्त्री बनाउनु पर्ने विवाद नेकपा माओवादी भित्र चुलियो ।

मुख्यमन्त्री शाहीले उक्त विवादलाई निरुपण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालय फूटाउने निर्णय गरे । उनले उर्जा तथा जलस्रोत मन्त्रालय गठन गराए ।

यस्तै, सांसद विष्टलाई ‘मन्त्रालयमा लिएर थन्काउने’ काम हुने भन्दै कार्यकर्ताबाट चर्को आलोचना भएपछि मुख्यमन्त्री शाहीले कांग्रेसको भागमा परेको सामाजिक विकास मन्त्रालय पनि फूटाए । त्यहाँबाट उनले युवा तथा खेलकुदलाई तानेर आन्तरिक मामिला, युवा तथा खेलकुद कानून मन्त्रालय बनाउने निर्णय गरे ।

ती दुवै निर्णय गरेपछि ती सूचना प्रदेश राजपत्रमा प्रकाशित गर्नुपर्ने थियो । राजपत्रमा प्रकाशित नभई सपथ खुवाउन नसकिने भन्दै विहीबार १० बजे राजपत्रमा प्रकाशित गर्ने र एघार बजे तीनै जना मन्त्रीलाई सपथग्रहण गराउने कार्यक्रम तय भए अनुसार अघि बढेपनि सांसद ठम्मर विष्टलगायतका अन्य सांसदको विरोधका कारण आज सपथग्रहण भने भएन ।

उता, आफूलाई जानकारी नै नदिएर मन्त्रालय फूटाएको भन्दै प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस जिल्लिएको थियो ।

‘सरकारमा मन्त्री हेरफेर गर्ने काम उहाँहरुको हो तर कम्तिमा मन्त्रालय नै फूटाउने समयमा हामीलाई सोध्नुपर्छ । सत्ता सहकार्य भइरहेको समयमा मुख्यमन्त्री शाहीले सल्लाह त गर्नपर्छ नि’ काँग्रेस नेता जीवनबहादुर शाही निकट स्रोतले भन्यो, ‘त्यहि विषयमा पनि थोरै विवाद सिर्जना भएका कारण सपथग्रहण कार्यक्रम रोकिएको हो ।

काँग्रेससँग एक मन्त्रालय भएपनि हाललाई लिन र मन्त्री हुने व्यक्तिको नाम पठाउन मुख्यमन्त्री शाहीले गरेका आग्रह सरकारले गरेको मन्त्रालय फूटाउलाई नसच्याएसम्म गर्न नसकिने काँग्रेसले जवाफ दिएको थियो ।

काँग्रेसको उक्त जवाफपछि मुख्यमन्त्री शाही, काँग्रेस नेता जीवनबहादुर शाही र फ्लोरक्रस गरेका एमाले नेता प्रकाश ज्वालाबीचमा विहीबार चार घण्टा बसेको बैठक विना निष्कर्ष टुंगिएको हो ।

‘फ्लोर क्रस गर्ने एक मन्त्रीलाई फिर्ता गराउन मुख्यमन्त्री शाहीले ज्वालालाई आग्रह गरेका थिए । त्यो आग्रह ज्वालाले स्वीकारेनन् ।’ स्रोत भन्छ, ‘काँग्रेसले पनि मुख्यमन्त्री शाहीको प्रस्ताव नमानेपछि बाध्य भएर मुख्यमन्त्री पछि हटनुभएको हो ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्