दाङमा एकहप्ता लकडाउन थपियो, बजार भने दैनिक खुल्ला रहने



दाङमा लकडाउन एक हप्ता थपिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको घोराहीमा बसेको बैठकले यसअघिका निर्णयलाई केही परिमार्जन गर्दै लकडाउनलाई असार १ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले बैङ्क तथा वित्तीय संस्थाहरूलाई दैनिक बिहान १० बजेदेखि २ बजेसम्म खुल्न दिने निर्णय गरेको छ ।

बिहान ६ बजेदेखि १० बजेसम्म बजारमा किनमेल पनि खुल्ला गरिएको छ । होटेल, सैलुन, चिया पसल, रेस्टुरेन्ट, जिम क्लब, सिनेमा हलबाहेक सबै पसल खुल्ला रहने भएका हुन् । त्यसमा स्वास्थ्य तथा सुरक्षाको मापदण्ड भने लागु पर्ने छ ।

पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीले दाङमा यात्रु झार्न तथा चढाउन नपाउने, विकास निर्माणको काम गर्न पाइने, बेलुका ६ बजेदेखि ९ बजेसम्म सिमेन्ट, छडलगायत हार्डवेयर सम्बन्धी सामग्री ढुवानी गर्न पाइने, ढुङ्गा, गिट्टी, बालुवा बिहान ८ बजेदेखि बेलुका ६ बजेबाहेक अन्य समयमा ढुवानी गर्न पाइने भएको छ ।

त्यस्तै खनिज जन्य पदार्थ ढुवानीका लागि होलेरी तर्फ बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म र बंगलाचुलीतर्फ बेलुका ५ बजेदेखि राति १२ बजेसम्मको समय तोकिएको छ । कृषि सामग्री वितरण गर्ने संस्थान तथा एग्रोभेटहरु दैनिक रूपमा खुल्ला रहने छन्, भने विद्यालय पूर्ण रूपमा बन्द हुनेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्