कर्णालीमा एमाले संसदीय दलको बैठकमा सांसद ज्वाला सहभागी



सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकमा हृवीप उल्लंघनको आरोपमा कारबाहीमा परेका नेता प्रकाश ज्वाला पनि सहभागी भएका छन् ।

पार्टीको निर्देशन अवज्ञा गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार जना सांसदमध्ये ज्वाला मङ्गलवारको संसदीय दलमा सहभागी भएका हुन् । अरू तीन जना सांसद अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कूर्मराज शाही भने बैठकमा सहभागी छैनन् ।

सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा निर्माणार्थ पेस हुनुअघि बैठक बसेको हो । प्रदेश सभामा एमाले एक्लैको २० सिट पुगेपछि आपसी सल्लाह गर्न बैठक बोलाइएको प्रमुख सचेतक गुलाबजंग शाहले बताए ।

यस अघि सरकारको नीति तथा कार्यक्रम प्रदेशसभा पारित भएपछि संसदीय दलको बैठकमा उपस्थित हुने बताइए पनि सर्वोच्चको आदेश अनुसार पुनर्बहाली भएकामध्ये सांसद प्रकाश ज्वाला पनि सहभागी भएका हुन् । बैठकमा ज्वालाको उपस्थितिले एमाले कर्णालीका कार्यकर्ता पार्टी एक हुनेमा आशावादी बनेका छन् । बैठकले सरकारको नीति तथा कार्यक्रम बारेको धारणासँगै बजेटबारे आवश्यक सल्लाह गर्ने प्रमुख सचेतक  शाहले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्