अविरल वर्षाले सेतीवेणी बजार डुबानमा, १० घर विस्थापित



१ असार , स्याङ्जा । अविरल वर्षाका कारण विश्वकै ठुलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ। पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका—६ सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो। 

काली गण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णपुरमा डुबानमा परेको स्थानीयवासी तिलक पराजुलीले जानकारी दिए। उनका अनुसार आज बिहान ४ बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेका छन्। ती १० घरमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको उनले बताए।

नदीको बहाव उर्लिएर बजार क्षेत्रमै आइपुगेपछि व्यवसायीहरू सुरक्षित स्थानमा सामान सार्न व्यस्त छन् । बजारवासीलाई संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारहरू पनि पूर्ण रूपमा क्षति पुगेको उनले बताए। पानीको बहाव ह्वात्तै बढेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए। काली गण्डकी र सेती खोला दुवैको बहाव उच्च हुँदा समस्या भएको हो ।

मुलुककै सबैभन्दा ठुलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणी बजार डुबानको खतरामा पर्ने गरेको हो। सेतीबेणी बजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्गजातर्फको बजार क्षेत्रमा झण्डै २०० व्यापारी तथा सर्वसाधारण त्रसित बनेका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्