अन्तरजातिय विवाह गरेका कारण छोराहरुलाई बुवाको शव छुन दिएनन्



ओखल्ढुंगा । ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. ३ मा अन्तरजातीय विवाह गरेका छोराहरूलाई आफ्नो बुवाको शव छुन नदिएको घटना सार्वजनिक भएको छ ।

स्थानीय मित्र बहादुर तामाङको चार भाइ छोरामध्ये शङ्कर तामाङले थापा क्षेत्री र कान्छो प्रदीप तामाङले गाउँकै नेपाली थरकी महिलासँग अन्तरजातीय विवाह गरेका थिए ।

अन्तरजातीय विवाह गरेकै कारण उनीहरूले आफूलाई जन्मदिने बुवाको शवलाई छुन नपाएको घटना सार्वजनिक भएको हो । स्थानीय गाउँलेले आफूहरूलाई बुवाको दाहसंस्कारमा पनि जान नदिएको उनीहरूले बताएका छन् ।

बुबाको केही दिन अगाडि मुटु रोगको कारण मृत्यु भएपछि उनीहरू दास संस्कारको लागि गाउँ पुगेका थिए तर आफ्नै दाजुभाइ र इष्टमित्रबाट तिमीहरूले लास छुने भए हामी छुँदैनौ भनेर उठेर हिँड्न थालेपछि उनीहरू काठमाडौँ फर्केका थिए ।

‘लामो समयसम्म अर्कै जातको केटी सँग माया बस्यो, सँगै जिउँछु सँगै मर्छु भन्ने कसम खाएर विवाह गर्‍यौ । गाउँमा यो समस्या छ भनेर त थाहा थियो तर पनि गहिरो मायामा परेको हामी जातको कारण छुट्टिन सकेनौँ तर आज अन्तरजातीय विवाह गरेकै कारण जन्मदिने बुबाको लास समेत छुन पाएनौँ ।’ बुवाका शव छुन नपाएका छोराहरूले  सुनाए ।

केही वर्ष अगाडि सोही वडाका राजु तामाङले पनि अन्तरजातीय विवाह गरेका थिए । उनलाई पनि आफ्नो हजुरबुबाको दाहसंस्कारमा सामेल नगराउने प्रयास गरेका थिए । ‘दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो तर हाम्रो गाउँमा अन्तरजातीय विवाह गर्नु ठुलै अ’पराध गरेको जस्तो सोच्छन’ तामाङले भने ।

छोराहरू भन्छन्, ‘वडाध्यक्षकै कारण हामीले बुवाको शव छुन पाएनौँ ।’

चम्पादेवि गाउँपालिका वडा नं.३ का वडाध्यक्ष बल बहादुर तामाङकै कारणले आफूहरूले बुवाको शव छुन नपाएको छोराहरूले आ’रोप लगाएका छन् । वडाध्यक्षले गाउँले र परिवारलाई उचालेर शव छुन नदिएको उनीहरूको आ’रोप छ ।

‘स्थानीय चुनावमा हामीले भोट दिएन भनेर त्यसको बदला लिने हेतुले वडाध्यक्षले यसरी गाउँले एक बनाएर हामीलाई बहिस्कार गर्ने काम गर्‍यो, उनलाई भोट नदिएका स्थानीयलाई यसरी नै विभिन्न बहानामा दुख दिने काम भइरहेको छ ।’ बुवाको शव छुन र हेर्न समेत नपाएका एक छोराले भने ।

लामा गुरुले पनि छ्योइमा अन्तरजातीय विवाह गर्नेले आफ्नो पिताको लास छुन नपाउने केही नलेखेकोले दाहसंस्कार गर्न पाउने भनेका थिए । तर एक्कासि वडाध्यक्षले सोझो गाउँले र लामा गुरुलाई उचालेर छोराहरू दाहसंस्कार सामेल भए हामी सामेल हुँदैनौँ भन्ने वातावरण निर्माण गरेपछि कपाल समेत फाल्न नदिई घर छोडेर आउनु परेको उनीहरूको गुनासो छ ।

वडाध्यक्ष भन्छन्, ‘यो हामी तामाङको संस्कार हो ।’

यस विषयमा हामीले चम्पादेवि गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष बल बहादुर तामाङसँग कुरा गर्दा यो तामाङहरूको संस्कार अनुसार शव छुन नदिएको प्रतिक्रिया दिए ।

‘समाजको प्रचलित विधिअनुसार अन्तरजातीय विवाह गर्नेलाई यसरी नै सामाजिक बहिस्कार गर्ने छ । आफू पनि तामाङ भएकोले यो संस्कारको जगेर्ना गर्नु पहिलो दायित्व हो ।’ उनले भने ।

संविधानले समेत सबै जाति समान भनेर लेखिसकेको अवस्थामा यस्तो कुरा गर्न सुहाउँछ ? भन्ने प्रश्नमा उनले भने ‘राष्ट्रिय कानुन र समाजको कानुन गरी यो देशमा दुई ओटा कानुन छन् । हामीले गाउँको कानुन मान्ने हो । उनीहरूले कुजातको बिहे गर्दै हिँड्छ त्यसलाई मिलाउने ठेक्का मैले लिन सक्दैन । जे गर्छ समाजले गर्छ । उज्यालो नेटवर्कबाट साभार 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्