मनाङे तेस्रो पटक बने खेलकुदमन्त्री, आचार्य ऊर्जामन्त्री



पोखरा । ज्यान मार्ने उद्योग सम्बन्धी पुरानो मुद्दा ब्युँतिएर २०७४ मङ्सिरमा मनाङबाट गण्डकी प्रदेश सभा सदस्यको चुनाव जितेर पनि राजीव गुरुङ (दीपक मनाङे)ले शपथ लिन पाएनन् । तत्कालीन एमालेको समर्थनमा मनाङ ‘ख’ मा स्वतन्त्र सांसद बनेका मनाङे जेलमुक्त भएर १४ महिनापछि मात्र शपथ लिन पाए ।

जनता समाजवादी पार्टीका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै आजै पदभार पनि ग्रहण गरेका छन् ।

राजनीतिक दल र सत्तामा आएको विग्रहको फाइदा उठाउँदै स्वतन्त्र सांसद मनाङेले आइतबार तेस्रो पटक मन्त्रीको कार्यभार सम्हालेका छन् । प्रदेश सभामा छिरेयता संसदमा कुनै छलफलमा भाग नलिएका मनाङे आफू भने सधैँ चर्चाको केन्द्रमा बने भने सरकार ढल्ने र बन्ने मौका छोपेर मन्त्री बनेर शक्तिमा कायम भएका छन् ।

दुई विना विभागीय मन्त्रीहरूले सुरुमा अस्वीकार गरेकै मन्त्रालयको जिम्मेवारी एक महिनापछि सम्हालेका हुन्। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेटमाथिको छलफल कार्यक्रमअघि नै मन्त्रालयको विषयलाई टुङ्गो लगाएका छन् । 

यसअघि जसपाका आचार्यले अर्थ मन्त्रालय दाबी गर्दै आफ्ना दुवै सांसदलाई मन्त्री बनाउनु पर्ने माग गर्दै आएका थिए । विश्वासको मत लिने दिन ४ असारमा काँग्रेस नेतृत्व सरकारले जसपालाई अर्थसहित २ मन्त्रालय दिने सहमति गरे पनि सहमति तोडेपछि किचलो सुरु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्